आज बुद्ध जयन्ती तथा उभौली पर्व, देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै
काठमाडौं। आज २५ सय ७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, भन्ने जस्ता अनेकौँ सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । पछि उनी दरबार छोडी ध्यान÷तपस्यामा लागेका थिए ।
बुद्ध जयन्तीको अबसरमा शुभकामना दिदै राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने बताएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE