बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मिन गुरुङसँग स्वार्थ बाझिने गरी जग्गा लिएको विरोध भए पनि टसको मस भएन एमाले (भिडियो)

विवादित पुष्ठभूमिका ब्यापारी मिनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेले पार्टी कार्यालय शिलान्यास गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सत्ता र प्रतिपक्ष दल मात्रै होइन पार्टीभित्रै ब्यापारीबाट जग्गा दान लिइएको भन्दै असन्तुष्टि चुलिएको छ । तर, एमालेले गुरुङले पारदर्शी र खुला दिलले दिएको जग्गामै पार्टी कार्यालय बन्ने दाबी गरेको छ । उसले अनावश्यक टिकाटिप्पणी समेत नगर्न आग्रह गरेको छ । यस सम्बन्धमा बागमती टेलिभिजनका समाचार संयोजक बालकृष्ण शर्माले एक रिपोर्ट तयार गरेका छन् ।

दशैंको मध्यतिर नेकपा एमालेले २०७२ को भूकम्पपछि पार्टी कार्यालयका लागि गरेको संघर्ष अव अन्त्य हुने भयो भन्दै कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान पायो । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले दान दिएको जग्गामा आलिसान भवन बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य रुपमा शिलान्यास पनि गरे । तर, दशैं सकिदै जाँदा एमालेमाथि विवादित ब्यक्तीले दिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेको भन्दै चर्को आलोचना भइरहेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका मिनबहादुर गुरुङको फैसला हुन बाँकी छ । धरौटीमा छुटेका मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएर सौदाबाजी गरेको आरोप लागिरहेको छ । सत्ता पक्ष दल कांग्रेसकै नेताहरुले पनि एमालेको निर्णयले अच्चमित बनाएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेकोले जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउछन् ।

ब्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने बिषयको टिप्पणी थरीथरीका छन् । कतिपयले एमालेको सुशासन किर्तिपुरको जग्गामा गएर सकिएको समेत आरोप लगाइरहेका छन् । तर, एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ । पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै यसबारे आएका टीकाटिप्पणी खेदजनक भएको बताएको छ । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्सनायोग्य भएको एमालेले दाबी गरेको छ ।

गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उनी आफैंले सामना गर्ने एमालेले जिकिर गरेको छ । लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको तर्क गर्दै जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि भएको एमालेको जिकिर छ ।

एमालेले विगतमा अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेको सन्दर्भमा गुरुङ दम्पतीले दान दिएको जनाएको छ । एमालेले पार्टी भवन निर्माणका लागि पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकबाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आहृवान गरेको थियो । तर, पार्टी कार्यालय बनाउन त्यो पैसाले नपुगेकोले सहयोग लिनुपरेको एमालेले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x