रूपन्देही अदालतमा लामिछानेमाथि आजदेखि थुनछेक बहस

काठमाडौं । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ । जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन् ।
सुरूमा सरकारी वकिलहरूले बहस गर्नेछन् । त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले बहस गरेपछि प्रतिवादी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ । पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नुहुनेछ । त्रिपाठी र भण्डारी पनि रूपन्देही पुगिसक्नु भएको छ । रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल लगायतले बहस गर्नुहुनेछ । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ ।
सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित हुनुभएको थियो । न्यायाधीश योगीले दिउँसो २ बजेदेखि लामिछानेसँग बयान लिनुभएको थियो । बयान सकिएपछि लामिछानेलाई आज हाजिर हुनेगरी श्रीमती र वकिलको जिम्मा लगाएर पठाइएको थियो । लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गते वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE