माओवादी केन्द्रिय समिति बैठकः पार्टीभित्र वर्ग दृष्टिकोण कमजोर भएको अध्यक्ष दाहालको स्वीकारोक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा वर्ग दृष्टिकोण कमजोर भएको भन्दै गम्भीर समिक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् । बिहीवारदेखि प्रज्ञा भवन कमलादीमा शुरु भएको केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा राजनीतिक एवं सांगठनिक प्रश्ताव पेश गर्दै यस्तो धारणा राखेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
प्रवक्ता सापकोटाकाअनुसार अध्यक्ष दाहालले केन्द्रिय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रश्ताव समेत राखे । अध्यक्ष दाहालले आफू जीवनभर पार्टी अध्यक्षमा टाँसिरहन नचाहेको उल्लेख गर्दै विधिमार्फत नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको उल्लेख गरेको सापकोटाको भनाइ छ । उनले पार्टीमा जेनजी पुस्ताको सहभागिता बढाउँदै उनीहरुको माग सम्बोधन गर्नेगरी अगाडि बढ्नुपर्ने प्रश्ताव राखेको पनि बताए ।
उनले भने, ‘आन्दोलनमा सहभागि जेनजीहरुसँगको राजनीतिक एवं वैचारिक संवादलाई पनि हामी तिब्र रुपले अगाडि बढाउनेछौं । जेनजी उमेर समूहका युवाहरुलाई पार्टीमा पनि समेट्ने र उनीहरुका मागका सम्बन्धमा पनि उहाँ ९अध्यक्ष पुष्पकलम दाहाल०ले राम्रोसँग उल्लेख गर्नुभएको छ ।
त्यसैगरी पार्टीमा वर्ग दृष्टिकोण कमजोर भएको, हाम्रो कार्यशैली र आचरणमा समेत केही खराबी देखापरेका छन् । त्यसमा हामीले समिक्षा र आलोचना पनि गर्दै आएका छौं । अब हामीले एकस्तर माथि उठेर जनताको हृदयमा पुग्नेगरी समिक्षा गर्नुपर्ने प्रश्ताव पनि उहाँले राख्नुभएको छ । अहिले समूहगत छलफल भइरहेको छ ।
अर्को घोषित मितिमा चुनाव सम्पन्न गराउन पार्टीको तर्फबाट प्रभावकारी भुमिका खेल्ने र हरहालतमा समयमै निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउने कुरा उल्लेख गर्नुभएको छ । त्यस्तै महाधिवेशनमा अधिकतम जेन—जी युवाहरुको सहभागिताको लागि वातावरण तयार गर्ने कुरा पनि भएको छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE