नख्खु पुगेर जेन–जी प्रतिनिधि सुदन गुरुङले भेटे रवि लामिछाने
काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीवार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग भेट गर्नुभएको हो । भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उनले बताए ।
आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भएपनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले गुरुङसँग राखेका थिए । गुरुङले मुलुकको लागि केही गर्ने भनेर आएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफू समेत दुःखित भएको बताए ।
उनले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताए । उनले भने, ‘उहाँले बरु अर्को आयोग बनाएर भएपनि मलाई छानविन गरियोस् ।
ममाथि अझै छानविन गरियोस् यसमा मलाई कुनै तनाव छैन । तर यतिधेरै मुद्दा म दुई सय वर्ष लाएर पनि भ्याउदिन भन्ने कुरा उहाँले गर्नुभयो । उहाँमाथि जे गरिएको छ त्यसप्रति हामी पनि दुःखी छौं । राम्रो काम गर्छु भनेर आउनुभएको मान्छे हो ।
हामी पनि केही राम्रो गर्छौं भनेर अगाडि बढेका हौँ तर चरित्र हत्यादेखि लिएर अनेक गरिरहनुभएको छ । देशको लागि राम्रो गर्छु भनेर आउने मान्छेलाई कसरी खेलाउँदा रहेछन् भन्ने उदाहरण उहाँ बन्नुभएको छ । यो केही मान्छे र संगठनहरुको पहिल्यैदेखिको रणनीति हो ।’
उनले भेटमा आफूले वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रश्ताव राखेकोमा लामिछाने सकारात्मक रहेको पनि बताए । उनले आफू वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा रहेको पनि बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE