मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

लिपुलेकमुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

काठमाडौं । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेकमुनिका छाङरु तथा तिङ्करका मतदाता अहिले खलङ्गामै बसोबास गरिरहेका छन् । त्यसैले उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो ।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उहाँले बताउनुभयो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन् ।

२०७९ सालको चुनावमा छाङरुमा ३ सय ८३ र तिङ्करमा २ सय ३४ मतदाता रहेका थिए । मुख्य निर्वाचन अधिकृत गिरीले सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको बताए।

दार्चुलामा प्रतिनिधिसभा चुनावका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला मतदाता रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x