आउँदो चुनावको मुख्य सुरक्षा चुनौती आँकलनसहित सतर्कता बढाइयो
काठमाडौँ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाइएको छ । आउँदो चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, नवयुवा र राजनीतिक दलबिच हुन सक्ने विवाद र खुला सिमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आँकलन गरी त्यसैअनुसार तयारी गरिएको हो ।
चुनावी सरगर्मी बढ्दै जाँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारको आवतजावत र अन्य कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मुख्यगरी उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उम्मेदवार विशेष सुरक्षाका लागि जिल्ला सुरक्षा समितिमार्फत् विशेष टोली नै परिचालन गरिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ ।
सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन् ।यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको निर्देशनमा सञ्चालन हुनेछ । यसका अतिरिक्त चार वटै सुरक्षा निकायले आफ्ना कार्यालयमा कमान्ड पोस्टहरू राखेर काम थालिसकेका छन् । ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पनि सुरक्षा संयन्त्रलाई सक्रिय पारिएको गृह मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE