भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकताः राष्ट्रिय सभा सदस्यहरु
काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताए । उनीहरुले भ्रष्टाचार के हो घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताउ । उन्ले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताउ । उन्ले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताए । नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उनको भनाइ छ ।
उनले भने, ‘सदाचार भनेको के हो घुस लियो, भ्रष्टाचार हुनु हुँदैन भन्छौँ, के गर्दा भ्रष्टाचार हुन्छ, के हो भ्रष्टाचार भनेको । घुस लियो भन्छौँ हामी, घुस भनेको के हो हामीले धेरै भन्छौँ इमान्दारिता भएन भनेर के हो त पेशागत इमान्दारिता के हो सांस्कृतिक सदाचार भनेको हो त्यसलाई स्पष्ट ढंगले बुझाउन सकेनौँ भने यो नीति बनाएर मात्रै पनि कार्यान्वयन गर्न गाह्रो हुन्छ ।’
राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले भ्रष्टाचाररहित देश बनाउने सबैको चाहना भएपनि कसले र किन हुन दिइएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए । उनले विगतका सरकारले गरेका कामहरुबारे पनि मूल्यांकन गर्न जरुरी रहेको बताए । देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘भ्रष्टाचार नभएको देश बनाउने हामी सबैको चाहना हो । भ्रष्टाचारबिहीन देश बनाउन कसले र केले दिएन होला रु मलाई लाग्छ । यसको खोजि गर्नैपर्छ । विगतमा कुन सरकारका पालामा केके भए त्यसबारेमा पनि खोजि गर्नुपर्छ । जेनजी आन्दोलनअघिका अर्थमन्त्रीले अब नेपाल ग्रे लिस्टबाट माथि जान्छ भन्ने कुरा उठेको थियो, हामीले थाहा पाएका थियौँ । यसबारे पनि सोच्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सबैको उद्देश्य सदाचार र असल समाज निर्माण गर्नु रहेको बताए । उनले भ्रष्टाचारमुक्त नेपाल र स्वाभीमानी नेपाली भएर बस्ने रहर सबैको रहेको बताए । उनले अदालतमा वर्षौंसम्म मुद्दा थन्किने, अख्तियारमा पनि वर्षौंसम्म नटुंगिने समस्याको अन्त्य गर्न जरुरी रहेको बताए । उनले सबैले आफ्नो कर्तव्यपालना नगरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताए । नियम, कानून, पालना नगर्ने र कर्तव्य पालना नगर्नेलाई कठोर कारबाही हुनुपर्ने बताए ।
उनले भने, ‘हामी सबैको उद्देश्य भनेको सदाचार हो । हामीले असल समाज निर्माण गर्ने र भ्रष्टाचारमुक्त एवं सबै नेपाली जनताले स्वाभिमानका साथ बाँच्न पाउने कुरालाई जोड दिइएको छ । विभिन्न निकायको काम र कर्तव्यको बारेमा उल्लेख गरिएको छ । अदालतमा वर्षौं फाइल बाँकी रहन्छ, अख्तियारमा गएपछि वर्षौं रोकिन्छ । विकास निर्माणका बारेमा एउटा प्रक्रिया छ, त्यहाँ पनि भ्रष्टाचार हुन्छ । जति ढिलो गरेपनि, जति म्याद थप गरे पनि हुने र अरुलाई मात्र दोष दिने चलन छ । सबैले आफ्नो कर्तव्यपालना नगरेका कारण यही स्थितिमा चलिरहेको छ । नियम, कानून, पालना नगर्ने र कर्तव्य पालना नगर्नेलाई के गर्ने भनेर नीति बनाउने र कारबाही गर्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले नीति बनाउने तर कार्यान्वयन पक्ष फितलो हुनु नै अहिलेको समस्या भएको बताए । नीतिहरु रछ्यानमा राख्ने नभइ कार्यान्वयन गर्नसक्नुपर्ने बताए । उनले शपथ खाएअनुसार नै काम र कर्तव्य पालना गर्ने हो भने सोचेको जस्तो देश बनाउन सकिने बताए । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपालमा २५ सय वर्षपछि सदाचार नीतिबारे छलफल गर्नु नै दुःखको कुरा भएको बताए ।
उनले भने, ‘हामी नीति बनाउँछौँ, कार्यान्वयन पक्ष फितलो भएको कारणले ति नीतिहरु त्यसै रक्षानमा बसेका छन् । यो बनाउने कुरा राम्रो कुरा हो । शपथ जसरी खाएका छौँ, सबै पदाधिकारीले शपथ खाएका छौँ, घुस पनि खान्छौँ, देशको सेवा कता जान्छ जान्छ, स्वनियमनको कुरालाई कायम गर्नसके आदर्श राज्य हुन्छ । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको देश हाम्रो नेपालमा सदाचारको बारेमा छलफल गरिरहेका छौँ । २५ सय पछि हामी बल्ल छलफल गर्दैछौँ । सदाचार बन्नेकुरा गौतम बुद्धको शिलमा नै आएको छ ।’
बैठकमा बोल्दै अन्य सांसदहरुले सदाचार नीतिमा गैरसरकारी संस्थाहरुबारे पनि स्पष्ट रुपमा लेखिनुपर्ने बताए । एन्जिओ, आइएन्जिओको प्रभाव नेपालमा धेरै रहेकाले सकारात्मक कुराबाट फाइदा लिएर नकारात्मक कुरालाई रोक्नुपर्ने बताए । उनीहरुले बोलाएका कस्ता कार्यक्रमा जाने र कस्ता कुरामा नजाने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताए । सञ्चारमाध्यमहरुले जे भनिदिए पनि हुने अवस्थाको अन्त्य गर्न पनि सदाचार नीति जरुरी रहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE