‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयोस् अध्यक्ष जोशी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।
मंगलवार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे । अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिवद्धता र व्यवहारबीच कुनै तालमेल नराखेको टिप्पणी गरे । दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औंल्याए । नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ । न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबण्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उनले बताए। अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरे । उनले पार्टीले अब ‘घुस नखानेहरूको पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ श्रमजीवी जनता र बुद्धिजीवीहरूको प्रतिनिधित्व गर्ने बताए । कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमान्दारिता र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूचि रहेको छ ।
उनले भने, ‘जनताको जानकारीको लागि, देशका मतदाताहरुलाई यसमा सजग गराउनको लागि नै यी घोषणापत्रहरु विमोचन गर्ने कार्यक्रम रहन्छन्, संसारभरिका परिपाटी हुन्, गर्छन् पनि । तर जुन उद्देश्यबाट यी घोषणापत्रहरु सार्वजनिक गरिन्छन्, जनताको अगाडि पस्किन्छन्, हाम्रो इतिहास हेर्ने हो भने हाम्रा सत्तामा पुगेका पार्टीहरुका क्रियाकलाप र उनले त्यो भन्दा पहिले जारी गरेका घोषणापत्रहरुमा कुनै पनि तारतम्य देखिँदैन । घोषणापत्रमा दीर्घकालीन कार्यक्रमहरु पनि समावेश भएका हुन्छन्, जसको परिणाम आजको भोलि नै दिन सक्दैन, पाँच वर्षकै कार्यकालमा दिन सकिँदैन, नसकिएला । तर के हुन्छ त भन्दाखेरि त्यो दिशामा अगाडि बढेको र त्यो दिशामा प्रयासहरु र परिवर्तनहरु चाहिँ सत्तामा पुगेको दिनदेखि नै गर्नुपर्ने हुन्छ । तर यहाँ के भो त भन्दाखेरि बहुमत नपुगेको, हङ पार्लियामेन्ट भएको नाममा त्यो स्वभाविक नै हो, बनाइन्छन् मोर्चाहरु संसारमा यो रुपमा, जम्मै ठाउँमा बनाइन्छन् मोर्चाहरु पनि । तर ती मोर्चाहरुको पनि एउटा आधारभूत जति मान्छेहरु त्यो मोर्चामा त्यो सरकारमा सम्मिलित हुन्छन्, तिनीहरुको एउटा साझा कार्यक्रम, आफ्ना–आफ्ना कार्यक्रमको बीचबाट निकालेर साझा कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने परिपाटी हुन्छ, त्यो यहाँ कहिल्यै पनि देखिएन । तपाईंहरु सबैलाई थाहा छ, के देखियो त भन्दाखेरि जुन सत्तामा जाने हो, त्यो सत्तामा जानको लागि र टिक्नको लागि कार्यक्रममा, उनका विचारहरु, उनको राजनीतिहरु, उनको भविष्यका योजनाहरुमा कुनै आधारभुत प्रस्तावनाहरु स्थापित गरेर अगाडि बढ्ने प्रयासको साटो कुन–कुन सिटमा न्यायाधीशमा कसरी बाँड्ने, मन्त्रीमा कसरी बाँड्ने, निर्वाचन आयोगमा कसरी बाँड्ने, अख्तियार दुरुपयोगमा कसरी बाँड्ने आदि इत्यादि साराका सारा के भयो त भन्दाखेरि आफ्नो एउटा भागबण्डाको आधारमा जुन राजनीति अगाडि बढ्यो, त्यसले देश बर्बादतर्फ गयो । दुई वटा कुरा भए । एउटा त यो भागबण्डाले गर्दाखेरि देशको समाजलाई मानसिक रुपमा नै भ्रष्ट ग¥यो । आज देशको सिङ्गो समाजको मनोविज्ञानलाई हेर्ने हो भने त्यसको धेरै ठूलो जत्था त्यही भ्रष्ट मानसिकताबाट राजनीतिमा डोरिएको हामी देख्छौँ । आज पनि त्यही अवस्था छ । भाषणहरु ठूलठूला छन् । कोही नयाँ भनेर तपाईंको घण्टी हल्लाउँदै हिँडिराछन्, कोही मेरो गढ हो र म यो हुँ भन्छ तपाईंको उसमा गरिराख्या होला, कोही हामी परिवर्तन भयौँ भनेर भनिराछन् भाषणमा । तर त्यसको जाँच कसरी गर्ने त भन्दाखेरि कुनै पनि तपाईंको यो विगतका हाम्रा कमजोरीहरु यी भएका हुन् । मोर्चागत गठनमा भागबण्डाको राजनीति चलायौँ, त्यसले हाम्रो यहाँ सरकार पाँच वर्ष नचलेको कारण उ नभएर होइन, सत्तामा गइसकेपछि भागबण्डा नमिलेर सरकारहरु भाँचिए, टुटेका हुन् ।’
अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताए । राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमान्दारिता र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिवद्धता व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनको शुद्धीकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पारे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE