१५ निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना
काठमाडौं । सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरणका लागि सूचना निकालेको छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न मौका दिएको हो । सडक डिभिजन डोटी, सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा, सडक डिभिजन ललितपुरलगायतका निकायबाट सिफारिस भएका व्यवसायी तथा कम्पनीहरू रहेका छन् । जसमा अनुप कन्स्ट्रक्सन, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स, नागार्जुनरआशिका जे।भी, पन्थ–तारा लक्ष्मी जे।भी, रिदम कन्स्ट्रक्सन लगायत रहेका छन् ।
आज सूचना निकालेर कार्यालयले ती कम्पनीलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । यसअघि सम्बन्धित सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरेको थियो । तर, त्यो अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत पुनः ७ दिनको मौका दिएको हो ।
तोकिएको समयभित्र स्पष्टीकरण नआएमा ती कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ । कालो सूचीमा परेमा ती निर्माण व्यवसायी वा कम्पनीले कालो सूचीमा राखिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन् ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE