शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ ।

आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रवद्र्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा हालसम्म ६ सय १२ वटा हानिकारक सूचनासम्बन्धी उजुरी प्राप्त भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनकाअनुसार प्राप्त उजुरीहरूको व्यवस्थापन तथा हटाउन आयोगले सम्बन्धित निकायहरूमा पत्राचार गर्दै आएको छ । ती निकायबाट केही सामग्री हटाइसकेको पनि उनले जानकारी दिए । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोलाई ३ सय ३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १ सय २९ वटा सामग्री हटाएको उनले बताए । हानिकारक सूचना प्रकाशित गर्ने १२ वटा वेबसाइटलाई ब्लक गरिएको छ । उनकाअनुसार वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो । ती साइटहरूले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले व्लक गर्न सिफारिस गरेको उनले जानकारी दिए । उनकाअनुसार प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरूले आयोगले तोकेको समयसीमाभित्र स्पष्टीकरण पेश गरेको उनको भनाई छ । जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको उनले जानकारी दिए । उनले निर्वाचन अवधिभर आचारसंहिता विपरित गतिविधि नियन्त्रण र हानिकारक सूचना हटाउने कार्यलाई निरन्तरता दिने बताए ।

उनले भने, ‘निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्यहरुलाई नियमित गर्नको लागि आयोगमा स्थापना गरेको सूचना सदाचार प्रवद्र्धन एकाईमा हालसम्म प्राप्त भएका हानिकारण सूचनाहरु ६१२ वटा छन् । यी सूचनाहरुलाई नियमित गर्न, व्यवस्थापन गर्न र तिनीहरुलाई हटाउनको लागि आयोगले विभिन्न निकायहरुमा पत्रचार गर्दै आएको छ । ती निकायबाट त्यस्ता सूचनाहरु हटेका पनि छन् । नेपाल प्रहरीको साईबर व्युरोमा ३३६ वटा यस्ता सूचना हटाउन आयोगले लेखेर पठाएको थियो, तीमध्ये १२९ वटा सुचनाहरु साईवर व्यरोबाट हटिसकेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण जसले वेबसाईटहरुलाई रेगुलेट गर्ने काम गर्छ । उहाँहरुलाई पनि कतिपय वेवसाईटहरुले निर्वाचन आचारसंहिता विपरित निर्वाचन नतिजा नै पहिल्यै सार्वजानिक गर्ने, अनुमानित, भ्रामिक सूचना राखेको पाइएको हुँदाखेरी १२ वटा त्यस्ता वेबसाइटहरुलाई ब्लक गर्नेगरी आयोगले अनुरोध गरेको थियो, उहाँहरुले ती साइटहरु पनि ब्लक गरिसक्नुभएको छ । प्रेस काउन्सिलमा पनि ७४ वटा यस्ता हानिकारण सूचनाहरु हामीले पठाएका थियौ, उहाँहरुले ७४ वटा मध्ये ३२ वटा यस्ता सूचनाहरुलाई हटाइसक्नुभएको छ । यसरी निर्वाचन आयोगभित्रै भएको निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले ९० जना विभिन्न व्यक्तिहरुलाई स्पष्टिकरण सोधेको छ, आचारसंहिता विपरितको कार्य गरेको भनेर । उहाँहरुले पनि आयोगले तोकेकै समयमा स्पष्टिकरणहरु पेश गरिरहनुभएको छ । यो प्रक्रिया निर्वाचन आचारसंहिता विपरितका कार्यहरुलाई नियमित गर्ने र त्यस्ता सूचनालाई हटाउने गरी आयोगले गरेको आचारसंहितामा भएको व्यवस्था बमोजिमको कार्य हो । यो कार्यलाई निर्वाचन अवधीभर यसरी नै अगाडी बढाउँछौँ ।’

उनले निर्वाचन आचारसंहिता पालना गर्नको लागि आयोगले कडाई गरिरहेको पनि जानकारी दिए । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जन नगर्न, बालबालिकाको प्रयोग नगर्न, निर्वाचन चिन्हको भौतिक प्रयोग नर्गन, शिक्षक तथा कर्मचारीहरुलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन तथा स्थानीय जनप्रतिनिधिलाई आफ्नो कार्यक्षेत्रमा प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको उल्लेख गरे । उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x