रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ
काठमाडौं। सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन् ।मंगलबार सानेपामा बसिरहेको बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘पाँच वर्षका लागि सरकारको ड्राइभिङ सिट प्राप्त गरेकोमा रास्वपालाई बधाई छ । अबको पाँच वर्ष सफलतापूर्वक सरकार चलाओस्’, उनले भने, ‘कांग्रेसलाई फरक र परिपक्व जिम्मेवारी मिलेको छ । अब कांग्रेसले प्रमुख प्रतिपक्षीका रुपमा सरकारलाई जिम्मेवार बनाउने भूमिका खेल्छ । हामी रास्वपा नेतृत्वको सरकारलाई सफल बनाउन रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौँ।’
थापाले अब यसबीचमा गिरीबन्धु प्रकरण, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका भनिएका पैसाबारे छानबिन हुनुपर्ने बताए ।थापाले भनेका गिरीबन्धुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको थियो ।
उता भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निवासमा भेटिएको भनिएको पैसाबारे पनि छानबिन हुनुपर्ने उनले बताए ।त्यस्तै भदौ २३ गते भएको युवाहरूको हताहती र भदौ २४ गतेको विध्वंशको पनि छानबिन र त्यसमा संलग्नलाई कारबाही गरिनुपर्ने उनले बताएका छन् ।
उनले सार्वजनिक ओहदामा यसअघि बसेका सबैको सम्पत्ति छानबिन गरेर जिम्मेवार बनाउनुपर्ने बताए । यसमा कांग्रेसले रास्वपा सरकारलाई पूरा साथ दिने उनको भनाइ छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE