शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नयाँ वर्ष : राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रतिवद्ध हुन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा आह्वान गरेका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दे उनीहरुले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै एकतावद्ध भएर देश निर्माणको संकल्प गर्न आह्वान गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि सङ्कल्प गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन् । नववर्ष नेपाली समाजमा विगतको समीक्षा गर्दै भविष्यका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परासँग जोडिएको उनको भनाई छ । हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै उनले जनताले विधिको शासन, दिगो शान्ति, सुशासन तथा सामाजिक न्यायसहितको विकासको चाहना राखेकोले त्यसलाई पुरा गर्नतिर लाग्नुपर्ने बताए । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति निष्ठावान् रहँदै सुशासन, समावेशिता र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् । तराई–मधेसमा मनाइने सतुवाइन, जुडशीतल, सिरुवा पावनी तथा काठमाडौँ उपत्यकाको बिस्का जात्रालगायत पर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सुदृढ बनाउने उल्लेख गर्दै उनले ती पर्वहरुको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र साहले नयाँ वर्षको अवसरमा सम्पूर्ण नागरिकको सुख, शान्ति र आरोग्यको कामना गरेका छन.् । नेपालीहरुको नयाँ वर्षको पहिलो दिन मंगलवार देशका विभिन्न राजनीतिक प्रमुख, नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिँदै राष्ट्रिय एकता, समृद्धि र विकासका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x