नेपाल ध्यानको उद्गम बिन्दुः मन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल ध्यानको उद्गम बिन्दु भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा काठमाडौंमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पशुपतिनाथ, लुम्बिनी, जनकपुर धामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा, बहुधार्मिक, बहुसांस्कृतिक परम्परा, भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य नै जीवित सभ्यताका सशक्त सेतुहरू भएको मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले नेपाललाई विश्व आरोग्य पर्यटनको केन्द्र बनाउने सरकारको नीतिगत प्राथमिकता रहेको जानकारी दिए । सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस ईयर’ (आरोग्य वर्ष) को रुपमा मनाउने घोषणा गरेको र यसलाई आर्थिक रुपान्तरणको एजेण्डाको रुपमा अघि बढाइने बताए । उनले आरोग्यलाई जीवनशैली र संस्कारकै रुपमा विकास गरिने लक्ष्य राखिएको पनि बताए । आरोग्य पर्यटनलाई सफल बनाउन निजी क्षेत्र, शैक्षिक संस्था, संचार क्षेत्र र विश्व समुदायलाई सामूहिक प्रयासका लागि अपिल गरे।
नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएअनुसार आज अप्रिल १५ लाई विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइँदैछ । यो अवसर नेपालका लागि कुटनीतिक र सांस्कृतिक दृष्टिले ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन जनाउने सबै मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै मन्त्री पौडेलले यस दिवसले विश्वभरका मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन र मानसिक स्वास्थ्यको संरक्षण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा १ अर्बभन्दा बढी मानिसहरू मानसिक स्वास्थ्य समस्या र तनावले ग्रस्त छन् । यस्तो अवस्थामा नेपालले मौनता, हिमाल, प्राचीन उपचार पद्धति र जीवित परम्पराहरू प्रदान गर्नसक्ने मन्त्री पौडेलको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE