गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त र पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टले पठायो प्रहरीमा निवेदन
काठमाडौं। गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ ।
मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त औपचारिक अनलाइनमाध्यममार्फत पठाइएको रातोपाटीलाई बताए ।
निवेदनमा गृहमन्त्री गुरुङ पदमा बहाल रहँदा आफूविरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो ’स्वार्थको बाझिने’ विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहोदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्राकृतिक न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताए ।
मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ ।
जेनजी मुभमेन्टले मन्त्री गुरुङमाथि राजनीतिक आधारमा पनि आरोप लगाएको छ । पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा जेनजी आन्दोलनलाई नै ‘हाइज्याक’ गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र व्यक्तिगत धन आर्जन तथा पद प्राप्तिका लागि बिचौलियाहरूसँग साँठगाँठ गरेको मुभमेन्टको दाबी छ। यस्तो कार्यले ७६ जना सहिदहरूको बलिदान र आन्दोलनकारीहरूको अपमान भएको निवेदनमा उल्लेख छ।
मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबाबमुक्त र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने मुख्य चार बुँदे माग राखेको छ।
प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा केही बताएको छैन।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE