सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार, ३१ वर्षीय युवक पक्राउ

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’ को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ ।

बन्दुकधारीले सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोजेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पछिल्लो ब्रिफिङमा घटनाबारे जानकारी दिँदै एकजना ‘सेक्रेट सर्भिस’ का अधिकारी घाइते भएको बताएका छन् । निकै नजिकबाट गोली प्रहार भए पनि ती सुरक्षाकर्मीले लगाएको ‘बुलेट–प्रुफ ज्याकेट’ का कारण उनको ज्यान जोगिएको जनाइएको छ । उनी अहिले खतरामुक्त भएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम चलिरहँदा अचानक गोली चलेपछि हलभित्र व्यापक अन्योल र त्रास फैलिएको थियो । गोलीको आवाज सुनेपछि पत्रकार र अतिथि लामो समयसम्म टेबलमुनि लुकेका सञ्चार माध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरिरहेको देखिन्छ । प्रहरीले आक्रमणकारीको पहिचान क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनका रूपमा गरेको छ । उनलाई नियन्त्रणमा लिई हाल नजिकैको अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पका महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार पक्राउ परेका व्यक्तिमाथि अब अदालतमा औपचारिक रूपमा मुद्दा दर्ता गरिनेछ । राष्ट्रपति ट्रम्पले घटनाको केही समयपछि संदिग्ध व्यक्तिको तस्बिर र गोलीबारी सुरु हुनुभन्दा अगाडिको भिडियो समेत सार्वजनिक गरेका छन् । सुरक्षा संयन्त्रले यस घटनालाई राष्ट्रपतिको सुरक्षामा भएको गम्भीर लापरबाहीका रूपमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x