राजनीतिलाई ‘फोहोरी खेल’ भन्दै आफ्नै सन्तानलाई टाढा राख्दा युवा सहभागिता घट्योः मुख्य सचेतक महर
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको सङ्गम भएको बताएका छन् ।
राजनीतिक गतिविधिहरूमा युवा पुस्ताको न्युन उपस्थितिलाई लिएर उनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । आईतवार मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले ‘जनताको बहुदलीय जनवाद’ ले परिकल्पना गरेको युवा उमेर र विचारको फ्युजन भएको उल्लेख गरे । पछिल्लो समय पार्टीका कार्यक्रम र आन्दोलनहरूमा युवा सहभागिताको खाडल बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। महरले राजनीतिक दल र नेताहरूले नयाँ पुस्तासँग ‘कनेक्सन’ सम्बन्ध र ‘कम्युनिकेसन’ सञ्चार गर्न नसकेको स्वीकार गरे।
महरले भने, ‘युवा भनेको उमेर मात्र होइन, यो एउटा विचार, अनुशासन र परिवर्तनप्रतिको समर्पण पनि हो । यदि कोही युवा छ तर निष्क्रिय भएर अरूबाट मात्र अपेक्षा गर्छ भने, त्यसलाई वास्तविक युवा मान्न सकिँदैन । हाम्रा कार्यक्रमहरूमा ९० प्रतिशतभन्दा बढी सहभागीहरू ४० वर्ष माथिका देखिन्छन् । नयाँ पुस्ता अर्थात ‘जेन–जी’ को उपस्थिति नदेखिनुमा हाम्रा कमी–कमजोरीहरू कहाँ रहे, त्यसको तथ्यपूर्ण खोजी हुनुपर्छ । हामीले केवल कुराले मनाउने ९कन्भिन्सिङ० कोसिस मात्र गर्यौँ, तर वास्तविक सम्बन्ध स्थापित गर्न सकेनौँ ।’
नेता तथा कार्यकर्ताहरूले आफ्नै परिवार र आफन्तलाई राजनीतिबाट टाढा राख्ने प्रवृत्तिले पनि युवा सहभागितामा ह्रास आएको उनको तर्क छ । मुख्य सचेतक महरले युवाहरूलाई राजनीतिमा आकर्षित गर्न र आन्दोलनसँग जोड्नका लागि पार्टीले आफ्नो कार्यशैली र सञ्चार पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE