रास्वपा सभापतिद्वारा कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल, संसदीय र सरकारी समन्वयमा जोड
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सङ्गठन, संसद र सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउन सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया शुरु गरेको छ । अभियानअन्तर्गत शुक्रावार कोशी र मधेश प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका हुन् ।
छलफलमा सांसदहरूले चुनावका बेला भोगेका अनुभव, राष्ट्र र जनताको अपेक्षा तथा पार्टी र सरकारबीचको समन्वयकारी भूमिकाबारे आफ्ना धारणा राखेका थिए । रास्वपा सचेतक प्रकाशचन्द्र परियारकाअनुसार सभापतिले सांसदहरूलाई वडादेखि संघसम्मको गतिविधि, आगामी महाधिवेशनमा देखा परेका चुनौती र संसदीय भूमिकालाई कसरी जनमुखी बनाउने भन्ने विषयमा निर्देशनात्मक सुझाव दिएका छन् । छलफलका क्रममा सांसदहरूको कार्यसम्पादनलाई गुणस्तरीय बनाउने, कानुनी जटिलताहरू निराकरण गर्ने र पार्टीको विधानअनुरूप सरकारको कार्यसम्पादनमा सहयोग पु¥याउने विषयमा समेत गहन विमर्श भएको जनाइएको छ । सभापतिले सांसदहरूलाई आफ्नो व्यक्तित्व निर्माण गर्दै जनताका मुद्दामा प्रखर रूपमा प्रश्तुत हुन आग्रह गरेका थिए ।
झापा क्षेत्र नं. ५ का सांसदको अनुपस्थितिबारे सोधिएको प्रश्नमा सचेतक परियारले मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीसँग पार्टी सभापतिको नियमित समन्वय र सहकार्य भइरहेको बताए । उनले आगामी बजेट निर्माणको व्यस्तताका कारण केही विशिष्ट परिस्थितिहरू उत्पन्न हुनु स्वाभाविक भएको तर्क गरे । यसैबीच, सहकारी पीडितहरूलाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने तयारीका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सचेतक परियारले उक्त विषयमा थप स्पष्ट पार्दै आगामी दिनमा विस्तृत छलफल गर्न सकिने बताए ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE