सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेका हौंः परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । गत जेठ १७ गते पहिलो पटक संसद्मा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिलाई परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीबाट सच्याएका छन् ।
भारत भ्रमणका क्रममा रहेका उनले आइतबार नयाँदिल्लीस्थित नेपाली तथा भारतीय सञ्चारकर्मीहरूसँगको संवादा क्रममा यस्तो बताएका हुन् । उनले नेपाल–भारत सीमा विवाद मिलाउन आफूहरूले बेलायतको मध्यस्थता नखोजेको प्रष्टिकरण दिए । दुई दिने भारत भ्रमणका क्रममा रहेका उनले दुई देशबीचको सीमा विवादसँग जोडिएका ऐतिहासिक दस्तावेजहरूबारे मात्रै बेलायत र उसका राजदूतसँग चासो राखिएको जवाफ दिएका छन् ।
यसअघि जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा बेलायत सरकारसँग पनि संवाद गरिरहेको दाबी गरेका थिए । यसलाई लिएर पछिल्लो समय नेपाल–भारत सम्बन्धमा नयाँ समस्या आउने चिन्ताबीच परराष्ट्रमन्त्रीले उक्त भनाइ सच्याएका हुन् ।उनले सीमा विवाद समाधानका लागि द्विपक्षीय संयन्त्र र कूटनीतिक वार्तालाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि पत्रकारहरूलाई जवाफ दिएका छन् ।
यस्तै मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेको बताए । नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE