शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आर्थिक विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो धारणा राखेका थिए । अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्तअनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम सञ्चित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकताअनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने स्पष्ट पारे । वातावरणीय प्रदुषण वा पूर्वाधारका नाममा उठाइएका करहरू सोही क्षेत्रको विकास र क्षतिपूर्तिका लागि खर्च भइरहेको उदाहरण दिँदै उनले संसदको निर्देशनअनुसार विशिष्ट प्रयोजनका लागि ‘इयर मार्किङ’ गर्न पनि सरकार तयार रहेको बताए।

उनले भने, ‘पब्लिक फाइनान्समा फञ्जिबिलिटीको अवधारणा हुन्छ । हजारौँ स्रोतबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा जम्मा हुन्छन् र जनमत प्राप्त सरकारले त्यसको प्राथमिकताका आधारमा उपयोग गर्छ ।’

शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा स्पष्ट पार्दै अर्थमन्त्रीले हाल निजी विद्यालयहरूमा ३ प्रतिशत कर लगाइएको जानकारी दिए। यसका साथै मध्यम वर्गीय परिवारलाई राहत दिन २५ हजार रुपैयाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको उनको भनाइ छ । वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीलाई आयकर मुक्त गरिनुलाई उहाँले क्रान्तिकारी कदमको संज्ञा दिए।

उनले भने, ‘एकातिर लाखौँको आयकर छुट दिइएको छ भने अर्कोतर्फ महँगा निजी विद्यालयमा खर्च गर्न सक्नेहरूलाई करको दायरामा ल्याइएको छ। यो प्रगतिशील कर प्रणालीकै एउटा हिस्सा हो ।’

विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताए। निजी क्षेत्रको ८० प्रतिशत हिस्सा रहेको विद्युत उत्पादनलाई व्यापार र प्रसारण लाइन विस्तारमा प्रोत्साहन गरिने उनको भनाइ छ । विद्युत महशुलमा उपभोक्तालाई मार नपर्ने गरी नीति बनाइएको दाबी गरे ।

उनले भने, ‘८५ देखि १५० युनिटभन्दा माथि खपत गर्नेहरूका लागि मात्र करको विषयमा अध्ययन भइरहेको छ । विद्युतीकरणको महत्वाकांक्षा पूरा गर्न ट्रान्सफर्मर फेर्ने र प्रशारण लाइन बनाउन ठूलो लगानी आवश्यक छ । उपभोक्तालाई अतिरिक्त भार नपरोस् भन्नका लागि वर्षायाममा महसुल समायोजन गर्ने विकल्पमा पनि हामी छलफल गरिरहेका छौँ ।’

पुँजी बजारमा देखिएको उतारचढावका विषयमा बोल्दै अर्थमन्त्रीले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गरे ।

उनले भने, ‘सुशासनका लागि चालिएका निर्मम कदम र अनुसन्धानका कारण केही भय देखिएको हुन सक्छ । तर बजेटले लिएको सही दिशा र सुधारका परिणामहरू देखिन थालेपछि निजी क्षेत्र उत्साहित हुनेमा हामी विश्वस्त छौँ ।’

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले क्षणिक लोकप्रियताभन्दा पनि दीर्घकालीन सोचका साथ अर्थतन्त्रको औपचारिकीकरण र आधुनिकीकरणलाई प्राथमिकता दिएको बताउँदै भ्रममा नपर्न सांसदहरूलाई आग्रह समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x