हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी षडयन्त्रमूलक ढंगले हत्या भएको भन्दै त्यो अहिले पनि खोजीको विषय बन्नुपर्ने बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। सहसंयोजक नेपालले मदन भण्डारीको हत्याबारे नेपालीमा समाजमा यथार्थ उजागर गर्न सक्नुपर्ने पनि बताए । उनले मदन भण्डारी अनेक क्षमता भएका नेपालको कम्युनिष्ट आन्दोलनको सम्मानित व्यक्ति भएको चित्रित गर्दै त्यसै भएर उनलाई कार्लमाक्र्स नेपालमा जिवित छन भनेर भनेको तथ्य पनि स्मरण गराए । सहसंयोजक नेपालले मदन भण्डारीको विरासतलाई उजागर गर्ने कार्यमा अझै सक्रियतापूर्वक लाग्न मदन भण्डारी फाउण्डेशललाई आग्रह पनि गरे ।
उनले भने,‘त्यो हामीले बुझ्नुपर्दछ कि नेपाली कम्युनिष्ट आन्दोलनको सम्मान हो । नेपालको कम्युनिष्ट आन्दोलनको सम्मान हो । त्यसो हुनाले अरुले सजिलै त्यसै भनेका होइनन–कार्लमाक्स नेपालमा जिउँदैछ । मदन भण्डारी जस्तो व्यक्ति, अनेक खुवी र क्षमता भएको व्यक्ति हामीले गुमायौ असमायिक हिसावले । शंकास्पद अत्यन्तै बडो जीप दुर्घटना भन्ने नाममा जुन षडयन्त्रमूलक उहाको हत्या भएको छ । त्यो अझै पनि खोजीको विषय बन्नुपर्दछ । यथार्थतालाई हामीले उजागर गर्न सक्नु पर्दछ । त्यसो हुनाले पनि म आजको दिनमा यो फाउन्डेशनलाई म भन्न चाहन्छु–तपाईहरुले जसरी मदन भण्डारी कमरेडको विरासतलाई जागाउनका लागि जुन सक्रियता देखाईरहनु भएको छ । अग्रसरता लिनुभएको छ । यो अग्रसरता र निरन्तरता जारी रहोस् । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीले नयाँ उचाई हासिल गर्न सकोस् । नयाँ उचाई हासिल गर्नका लागि कमीकमजोरीहरु खोजोस् । सबभन्दा पहिलो कुरा भनेको त सहकार्य गर्ने नै हो । मिलेका विषयमा मिलेर अघि बढने हो । विचार मिल्दै गयो भने, मन मिल्दै गयो भने भावना मिल्दै गएपछि एकतावद्ध पनि हुने हो । आज मिलेको छ, भोलि फेरि फुटेको छ । त्यो काम नहोस । विगतमा पनि त्यस्तो भएको छ । त्यसकारण मिल्ने कुरा मात्रै ठूलो कुरा होइन । बलियो एकता हुनुपर्दछ । सिद्धान्तनिष्ठ एकता हुनु पर्दछ । भावना पनि मिल्नुपर्दछ । विधि, पद्धतिमा पनि दह्रो हुनुपर्दछ । तर हामी विधि, पद्धतिमा कति दह्रो छौ ?’
त्यस अवसरमा सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुबीच तत्काल सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विगतमा जस्तो आज मिल्ने र भोली फुट्ने खालको एकता भने गर्न नहुने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE