बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चिसो बढेपछि सुनसान बुकीपाटन

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

ढोरपाटन । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गंगा पुनले बताइन् ।

बर्खामा चारैतिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणा बढी पर्यटक बुकीपाटन पुगेको उनको भनाइ छ ।

“लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो” उनले भनिन्, “ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको संख्या बढाउन सकिन्थ्यो ।”

समुद्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो । बर्खामा यहाँ सयौँ गोठाला र हजारौँको संख्या भेडाबाख्रा तथा गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् ।

ढोरपाटन उपत्यकाका होटेल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताए ।

“बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हेर्यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उनले भने ।

बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x