बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनसान गाउँ, बिरामीलाई अस्पताल लैजाने मानिस पाउनै मुस्किल

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् ।

बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्यलाई भेट्याउन सकिन्न ।

काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरुको परिवार बागलुङ, पोखरा, काठमाडौं र चिवतन बसाई सरेका छन् ।

बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर्याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको समस्या बढ्दै गएको छ ।

यसले स्थानीय त्रसित बनेका छन् । गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गरे । श्रमशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उनले बताए ।

“मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले वीरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्,” उनले भने, “पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ ।”

स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताए । बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ । अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउँछन् । पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ ।

युवा शक्ति विदेश पालयन भएका छन् । गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ । स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन । काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान भएका छन् ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताए ।

धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ । गाउँमै बस्ने वातावरण तयार गर्नका लागि आफूहरु गम्भीर भएर लागेको उपाध्यक्ष थापाले बताए । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x