शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

माधव नेपाल लक्षित ओलीको टिप्पणीः अब पनि प्रधानमन्त्री हुने सपना कसरी देखे होलान् ?

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए । उनले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निस्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताए । महादेवको उदारहण दिँदै उनले महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गरे ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए । उनले धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताए । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उनले हात्तीको शिकार गर्न १०÷१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पाणी गरे ।

उनले भने, ‘अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । नेपाली काँग्रेसले यो समझदारी राखेको छ । नेपाली काँग्रेसले पनि चेत्यो । हामीले पनि चेत्यौँ । चेत्ने कुरा कहिले कहिले कस्तो हुँदो रहेछ भने शिवजीले समेत मरिसकेकी सतीदेवीलाई काँधमा हालेर घुम्दा घुम्दा, हिँड्दा हिँड्दा, न बाँच्छिन् उनी, यताको मासु खसेको छ, यहाँ पीठ बन्यो । उताको मासु खसेको छ, त्यहाँ पीठ बन्यो । दैलेख पुग्दा त्यहाँ पनि बोकेर गएर खसाएका रहेछन् मासु । यहाँ खसाएको, त्यहाँ गुह्वेश्वरीमा खसाएको । मासु खसिरहेको छ, उनी बोकेर हिँडिरहेका छन् । शिवजीले पनि अगतिला तत्वहरुलाई बोकेर हिँड्दा भएन भने हामीले बोकेर पार लाग्छ । भएका तत्वहरुलाई शिवजीले त बोकेर हिँड्दाखेरी सतीदेवीलाई त बचाउन सकेनन् । यि न सतीदेवी र न सत्यदेवी । यि गैरतत्वहरु । यि हामीले बोकेर पार लाग्छन् ? अनि हामीलाई के ठाने भने आएको छ ३२ नम्बर, जितेको छ १८ सिट । धाक कस्तो छ भने पाँच वर्ष नै खान्छु, जादुई नम्बर छ । जादुई नम्बर भनेको यसलाई धम्क्याउँछु खान्छु, भएन भने उसको काँधमा बुरुक्क उफ्रिएर चढ्छु, त्यो काँधमा चढेर उसलाई धम्क्याएर खान्छु । थाकेँ बोक्न गाह्रो भयो भन्यो भने त्यसो भए ल त ओल्ला घरमा आफू त सधैँ प्रधानमन्त्री । कस्तो मिठो सपना । गजवको मिठो सपना । त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरुको बेहाल भएको छ । अहिले एउटा मोर्चा की के बनाएका छन् नि । मोर्चा पनि अलिकति एमाले र काँग्रेस जस्तो गरिखाने खालको बनाउनु नि बनाएपछि । हात्तीको शिकार खेल्छु भनेर १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेका छन् । मोर्चा भनेर ।’

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गरे । उनले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘आशा पनि कस्तो हुँदो रहेछ । एक जना नेताले भनेका । म प्रधानमन्त्री हुन्छु भनेर कसै कसैको मन भतभती पोलेको छ । धिक्कार होस् तिनीहरुलाई । एक जनाले भाषण गरेका । ति प्रधानमन्त्री हुने सपना कहाँ देखे, कहिले देखे, कसरी देखे ? हिँड्दा हिँड्दै देखे कि, बसेका ठाउँमा देखे की सुतेको बेलामा देखे की ? यति ढुक्कले भने म प्रधानमन्त्री हुँदैछु भनेर कसैको मन भतभती पोलेको छ । त्यस्तो लाग्छ क्या कहिले कहिले मान्छेहरुमा ।’

उनले अहिले सरकारले कानूनी र संरचनागत रुपमा विकासका योजनाहरु अघि बढाइरहेको बताए । नेकपा एमाले घेराबन्दीमा रहेको भएपनि ढुक्क भएर जनताको काम गर्न आग्रह गरे । उनले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x