बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं। वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको ९७ वर्षको उमेरमा हिजोराति निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

त्यही भएर उहाँको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने जनाइएको छ । उनले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउथे । त्यस्तै उहाँले रेडियो सगरमाथामामै लामो समयसम्म ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला पनि सञ्चालन गरेका थिए ।

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका रिसालले त्यअघि भने तथ्याङ्क विभागमा रहेर काम गरेका थिए ।

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x