भारतद्वारा पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ स्थानमा हवाई हमला गरेको छ । भारतीय समयअनुसार आज विहान पौने २ बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ’अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो ।
पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ । पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरेको बताइएको छ । यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य स्थानमा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ ।
यसैबीच कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । भारतले पाकिस्तानमाथि हमला गरेकै बेला पाकिस्तानी तर्फबाट पनि गोलीबारी भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE