बजेट असमानताको खाडलबाट उक्सिनसक्ने दस्तावेज बन्नुपर्छः जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेरमात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा प्रश्तुत हुने अपेक्षा रहेको बताए । उनले बजेटमा चालु खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्नेगरि आएमा आफूहरुको पूर्ण समर्थन रहने बताए । राजश्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताए । साथै उनले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए ।
उनले भने, ‘मन्त्रीज्युको इच्छा आकांक्षा त पक्कै छ नै गर्नुहुन्छ नै । तर, हाम्रो कर्मचारी तन्त्रले सबै बन्द गरिसक्यो । माननीयज्यूहरुले आज राखेका भनाईहरुलाई बजेटपछिपनि यही स्तरमा सुन्न चाहन्छु । बजेटलाई एउटा आम्दानी खर्चको फाँटवारीमात्र नभएर हामीले एउटा देशको समृद्धिको सामाजिक न्यायको र असमानताकाृ खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने एउटा उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुनेछ भन्ने विश्वास लिन चाहन्छु । बजेट बनाउँदा जनअपेक्षा पूरागर्ने स्रोत हामीसँग छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ । १७ प्रतिशत मात्र पुँजीगत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यसकारण त्यो ६५ लाई ३५ मा झार्नेगरि ल्याउनुस् हाम्रो समर्थन रहनेछ । त्यसका लागि संरचनागत पुर्नसंरचना हो । चाहे राजनीतिक र प्रशसनिक क्षेत्रको हाम्रो आजको खर्च घटाउनुपर्छ । त्यसबाटमात्र बजेट बनाउनसक्नु हुन्छ । अन्यथा १० खर्बको वरीपरिमात्र आउँदैछ राजश्व । अरु तानतुन गरेर दुई चार खर्ब थप्नुहोला त्यसपछि बन्छ कसरी ? त्यसकारण आर्थिक पुर्नसंरचनाका लागि राष्ट्रिय बहस, राष्ट्रिय सहमति यस क्षेत्रमा आवश्यक छ भन्नेकुरा यसअघि पनि राखिसकेको छु । त्यसकारण विनियोजित बजेटबाट परिणाम हासिल गर्नका लागि संरचनागत सुधारको कुरामा कडा भन्दा कडा हुनुहोस् । दुई तिहाइको सरकार छ तपाइहरुले गर्नुभयो भने हाम्रो पनि सहमत हुनेछ । भूकम्पको शीर्षकमा बजेट छुटिएको छैन भन्ने जानकारी पाएको छु । त्यसो नगरियोस् भुकम्पको पुनर्निर्माका लागि सबै क्षेत्रको बजेट छुट्याइयोस् । विगतमा मैले नै ५३ मिनेटमा चितवनको टाँडी पुग्नेगरि डिपिआर भइसकेको र सो डिपिआर लगानी बोर्डलाई हस्तान्तरण भैसकेको अवस्था छ त्यसमा बजेट हाल्नुपर्ने अवस्था छैन तर नीतिमा ल्याउनुहोस् । त्यसमा कुनै लगानीकर्तालाई टोल उठाएर त्यसको पैसा तिर्ने अवस्था बन्यो भने ५३ मिनेटमा चन्द्रागिरिको मुनिबाट सिधै थाहा नगरपालिका हुँदै चितवन पुग्ने बाटो बन्छ यो बनाउँ । यसले जनधनको क्षतिपनि कम हुने र समय पनि बचत हुनेछ । त्यसैगरि ४८ घण्टा घुमाउरो यात्रा गर्ने जुम्लाका जनताका लागि जाजरकोट र जुम्लाको बीचको टोप्ला लेकको चार किलोमिटरको टनेल बनाउन सके १२ घण्टामा जुम्लाका जनता काठमाडौं आइपुग्न सक्छन् । त्यसैले तुलनात्मक लाभ भएका क्षेत्रहरु पहिचान गरौं ।’
उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरि अघि बढ्न सुझाव दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE