राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा, राजेन्द्र लिङदेनलाई जीवनभर विश्वास नगर्ने
काठमाडौं । दुई जनाको ज्यान जाने गरि गत चैत १५ गते तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंले पहिलो पटक घटनाबारे बोलेका छन् । विभिन्न मुद्धामा लामो समय थुनामा बसेर निस्किएको १५ औं दिनमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले तीनकुनेमा आफुलाई इन्काउन्टर गर्ने योजना रहेको थाहा पाए पछि भागेको दाबी गरेका छन् ।
उनले आन्दोलनका क्रममा राप्रपाले धोका दिएको बताउदै अब आफुले छिट्टै नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । गत वर्षको चैत १५ गते काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएर लामो समय थुनामा बसेर दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक बोलेका छन् ।
उनले सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् । उनले करिब १० वर्षपछि आफूले पहिलोपटक तीनकुने घटनाको दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको दाबी गरे । त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले सुनाए ।
त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताए । साथै, उनले उपत्यकामा कफ्र्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताए । पत्रकार सम्मेलनका क्रममा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताए । आफ्ना लागि अब आफ्नो परिवार र आफुभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेको उनको भनाइ छ । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताए । आफ्नो अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेको उनको भनाइ छ ।
पार्टीको नाम छिट्टै घोषणा गर्ने बताएका उनले आफुले राजाकालागि यहाँसम्म गरेको बताउदै आगामी दिनमा राजा सँगै हुने या नहुने भन्नेमा राजाको भूमिकामा भर पर्ने बताए । राजा समाएको र छोडेको भन्ने नहुने बताउदै उनले घुमाउरो पाराले राजतन्त्र फर्काउनकालागि राजा नै अघि आउनुपर्ने उल्लेख गरे ।
अबदेखि आफु राजाबादी या राजतन्त्र बादी नभएर भिन्नै भएको उनको भनाइ छ । प्रसाईंले राप्रपाभन्दा आफूहरु फरक हुने बताए । यस्तै प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोप लगाए ।उनले लिङ्देनले भारतबाट गाडी चोरेर झापा ल्याएर बेचेर खाएको गम्भीर आरोप लगाएका हुन् ।
लिङ्देनले बैंक ठग भनेर आफूलाई आरोप लगाएको बताउँदै आक्रोशित प्रसाईंले जीवनभरि विश्वास नगर्ने बताए । प्रसाईंले राप्रपाका नेताहरु सरकारसँग मिलेर आफूलाई छुरी हानेको आरोप लगाए । आफू राजनीतिमा नथाकेको उनको भनाइ छ । प्रसाईंले अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE