‘जेन-जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछ’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् ।
बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राखे । उनले लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिए ।
नेता सिंहले भने, ‘हाम्रो जिम्मेवारी प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ । अहिलेको वर्तमान परिस्थितिमा जुन अब जेन जीको प्रदर्शन भयो । सबै भयो । अब यो आन्दोलन भयो, तर विराटनगरमा कोईराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ । यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’
नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताए । उनले अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्ने जिकिर गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE