संसद् पुनर्स्थापनाको कुरा जनताले उहीबेला खारेज गरिसके, देश निर्वाचनमा जानुपर्छः प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा वर्तमान विषम परिस्थितिको बारेमा आफ्नो धारणा राख्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।
वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए । दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको पनि उनले बताए । अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए । आफूहरुको तेस्रो जनआन्दोलनको बलमा जेन–जीहरुले भ्रष्टाचारविरुद्धको अभियान उठान गरेको पनि उनले बताए ।
नेता साहले गत भदौ २३ गते मात्रै जेन–जीको आन्दोलन रहेको र २४ गते हत्यारा सरकारको विरुद्ध आम जनता सरकारमा आएको बताए । नेपाली जनताले कांग्रेस र एमालेको अपवित्र राजनीतिलाई निधेष गरिदिएको पनि उनले बताए । नेता साहले सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको टिप्पणी गरे ।
सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र सन्दीग्ध रहेको उनले बताए । प्रधानमन्त्री कार्की आफैंले अहिले ‘म जेन–जीलाई चिन्दिनँ’ भनिराखेको उनले बताए । उनले प्रधानमन्त्री कार्कीलाई ‘कसको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिराख्नु भएको छ ?’ भन्दै प्रश्न गरे । जेन–जी आन्दोलन र जनताको विद्रोहको बलमा प्रधानमन्त्री बनेकी कार्कीले त्यसलाई संस्थागत गर्ने बाटोमा जान नचाहेको उनको आरोप छ । संसद् पुनर्स्थापनको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै नेता साहले फेरि गिजोल्ने काम आफूहरुको लागि स्वीकार्य नरहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE