सरकारले मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको छः ओली
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको आरोप लगाउदै संसद पुनः स्थापनाको पक्षमा नेकपा एमालेले शनिबार संघीय राजधानी काठमाडौंमा जनसभा तथा जन प्रदर्शन गरेको छ । जनसभालाई संवोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सुशासनको नाममा वर्तमान सरकारले मुलुकमा घृणा र द्वेष फैलाउने काम गरेको आरोप लगाएका छन् । अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने दाबी गर्दै ओलीले सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।
जेन जी प्रर्दशनका कारण सत्ताबाट एका एक बिमुख हुन पुगेको एमालेले आफ्नो जनपरिचालन कार्यक्रमअन्तर्गत शनिबार संघीय राजधानी काठमाडौंमा जन प्रदर्शन तथा जनसभा गरेको छ । एमालेले असंबैधानीक माध्यमबाट अन्तरिम सरकार गठन भएको आरोप लगाउदै संसद पुनः स्थापनाका लागि देशभरका वडा, पालिका, जिल्ला हुदै शनिबार संघीय राजधानी काठमाडौंमा जन प्रदर्शन गरेको हो । शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको एमालले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरुप प्रदर्शन गरेको हो । शनिबारको जनसभामा हजारौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उक्त जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचनामा अधिकांश समय खर्चिएका छन् । उनले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिकिर गरे । सरकारले जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता निम्त्याउने काम गरिरहेको उनको आरोप छ ।
सरकारको आलोचनामा अधिकांश समय खर्चिएका अध्यक्ष ओली आफ्नो कटु आलोचक रहेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंको पक्षमा उभिए । प्रधानमन्त्री कार्की जोडिएको एक क्यासेट सार्वजनिक गरेकै कारण प्रसाईंलाई सरकारले पक्राउ गर्ने काम भएको दाबी गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ समेत माग गरे ।अध्यक्ष ओलीले कार्की नेतृत्वको सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको बताउदै सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने उल्लेख गरे । अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने उनको भनाइ छ । उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाए । मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने उनको भनाइ छ ।
महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताए । लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे । महासचिव पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत बताए । महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोप समेत लगाए् ।
एमालेले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेको छ ।चुनावको नाममा सरकारले तमासा देखाइरहेको बताउदै संसद् पुनस्र्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्नेमा एमालेको जोड छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE