शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा (तस्बीरहरु)

वीरगंज । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ। बैठकमा देशभरका महानगर, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।

वीरगंज महानगरपालिकाको आयोजनामा भएको बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, शहरबीच सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गरिएको थियो । बैठकले विपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ ।

विपद सम्बन्धी कोष स्थापना, नगरपालिका समूह दर्ता, फोकल पर्सन तोक्ने, हरेक ६ महिनामा नियमित बैठक गर्ने तथा सचिवालय दर्ता गर्ने निर्णय गरिएको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । जेठ महिनामा हुने अर्को बैठक गोदावरी नगरपालिकामा हुने भएको छ।

बैठकमा बिपद जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्रका प्रा.डा. आममोदणी दीक्षित र डा. गणेश कुमार जिमीले जोखिम न्यूनीकरण केन्द्रको आवश्यकता र कार्ययोजनाका विषयमा प्रस्तुति दिएका थिए । उनीहरूले प्राकृतिक प्रकोप, लैङ्गिक विभेद, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन विषयमा स्थानीय तहको जिम्मेवारी र सार्वजनिक सचेतनाको महत्त्वबारे जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन सिटीनेट नेपाल अध्यक्ष तथा विराटनगर प्रमुख नागेश कोइराला र वीरगंज प्रमुख राजेशमान सिंहले संयुक्त रूपमा गरेका थिए । कार्यक्रमको सुरुमा काठमाडौं प्रमुख बालेन साहका दिवंगत पिताप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले प्रस्तुत गरेका थिए ।

सिटीनेटमा एसिया–प्रशान्तका १०३ सदस्य रहेका छन् । नेपालमा १६ पालिका सदस्य छन्, । जसमा वीरगंज, ललितपुर, भरतपुर, पोखरा, तानसेन, विराटनगर, जितपुर–सिमरा लगायतका पालिका समावेश छन् । सिटीनेटको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो ।

समापन सत्रमा नगरप्रमुख राजेशमान सिंहले “बैठकमा आएका सुझाव र अनुभवहरूले आगामी दिनमा प्रभावकारी काम गर्न मार्गदर्शन गर्नेछ” भन्ने विश्वास व्यक्त गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x