पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँः ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमवार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् ।
अधयक्षका दाबेदार पोखरेलले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ छ ।
पोखरेलले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रुपमा लिन नहुने बताए ।
उनले भने, ‘पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिष्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिष्पर्धालाई अस्वभाविक रुपमा लिनु हुदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन । म चाहीँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनुभएका कार्यकर्ता साथिहरुलाई पार्टीलाई पुर्नव्यवस्थित, सांगठनिक, वैचारिक रुपमा पुर्नव्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु ।’
पोखरेलले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE