बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताएका हुन् । प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गरे । उनले निर्वाचन अघिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार समेत प्रकट गरे ।

उनले भने, ‘अति लोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभाव पार्ने तत्वहरू शिथिल बन्दै गएका छन् । नेपाली काँग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ । विभिन्न दलका उच्चस्तरका राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरू कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।’

प्रचारप्रसार अन्तिम सातामा प्रवेश गरिरहँदा पार्टीका शिर्ष नेताहरू देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना हुने चुनावी सभामा सहभागी भइरहेको जानकारी दिए । चालिसेले नवलपरासी, सुर्खेत र बाँकेमा सम्पन्न सभाहरूमा अन्य दल परित्याग गरी सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताए । निर्वाचन आचारसंहिताको पालनालाई काँग्रेसले प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै उनले उल्लंघनका घटनाहरूबारे तत्काल छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरे । भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा मतदान गर्न पाउने अधिकार नागरिकको रहेकाले नागरिक अधिकारको सम्मान गर्नका लागि सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गर्नुपर्ने बताए । जेलबाट फरार भएका अपराधीहरू र हतियारसहित बाहिर रहेकाहरुबाट हुनसक्ने अशान्तिप्रति सरकार सचेत हुनुपर्ने काँग्रेसको भनाइ छ । प्रवक्ता चालिसेले बालबालिकालाई निर्वाचनमा प्रयोग गर्ने कार्यको आलोचना गर्दै यसलाई बाल अधिकारको हनन र दण्डनीय गतिविधि भएको ठहर गरे । उनले कुनैपनि सभ्य पार्टीले राजनीतिक उद्देश्यका लागि बालबालिकाको उपयोग गर्न नहुनेमा जोड दिए ।

उनले भने, ‘नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति र सामाजिक सद्भावमाथि प्रहार गर्ने कार्य सर्वथा अनुचित हो ।’
लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्र र काँग्रेसबीचको सहकार्य अविच्छिन्न रहने विश्वास व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x