ओली पक्राउको विरोधमा एमालेले गर्यो देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
काठमाडौं ।नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको हो ।
वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले सो विरोध प्रदर्शनमा सहभागी हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।
महासचिव पोखरेलकाअनुसार एमालेले सो विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ । वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसका लागि पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी समेत बैठकले दिएको एमालेले जनाएको छ ।
बैठकले वैशाख नौ गते नेकपाको स्थापना दिवस भव्य रुपमा मनाउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित सो दिवसलाई भव्य रुपमा मनाउन सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई आह्वान गरिएको महासचिव पोखरेलले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE