हिमाल पग्लिँदा र हिमताल फुट्दा जैविक विविधतामा असर पर्यो : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ आईपीयू को १५२ औँ महासभालाई सम्बोधन गरेका छन् ।
टर्कीको इस्तानबुलमा भएको महासभालाई सम्बोधन गर्दै उनले विश्व समुदायलाई युवा सशक्तिकरण, समावेशिता र जलवायु न्यायका विषयमा एकताबद्ध हुन आह्वान गरे ।अध्यक्ष दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरका संसद् एकताबद्ध हुनुपर्ने बताए ।
विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट, असमानता र युवा बेरोजगारीजस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यी समस्याहरू परस्पर सम्बन्धित रहेकाले सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित समाधान आवश्यक रहेको बताए ।महासभाको मूल नारा ‘आशाको सम्वर्धन, शान्तिको सुनिश्चिूतता र भावी पुस्ताका लागि न्याय‘को सान्दर्भिकता रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनप्रतिनिधिका रूपमा वर्तमानमा गर्ने निर्णयले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान गर्ने बताए ।
अध्यक्ष दाहालले आशा र विश्वासलाई सुदृढ बनाउन युवाकेन्द्रित नीति अपरिहार्य रहेको उल्लेख गर्दै नेपालमा हाल प्रतिनिधि सभामा ठूलो संख्यामा युवाको सहभागिता रहेको जानकारी गराए ।समावेशिता लोकतन्त्रको आधार भएको भन्दै दाहालले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास गर्दै संविधानमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको स्मरण गराए ।
विकास र शान्ति एकअर्कासँग अन्तरनिर्भर रहेको उल्लेख गर्दै उनले विकासको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए ।जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा औंल्याउँदै नेपालजस्ता कार्बन न्यून उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरे ।हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमाल पग्लिने र हिमताल फुट्ने जोखिम बढ्दै गएको भन्दै अध्यक्ष दाहालले यसको असर जनजीविका र जैविक विविधतामा परेको बताए ।
यद्यपि, नेपालले सन् २०४५ सम्म नेट–शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यसहित नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन कार्यक्रम अघि बढाएको जानकारी दिए ।डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विकासले अवसरसँगै चुनौती पनि ल्याएको उल्लेख गर्दै उनले डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE