बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको असन्तुष्टी बढ्दो।

काठमाडौं। गत प्रतिनिधि सभा निर्वाचनमा प्रतक्ष्यतर्फ एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको असन्तुष्टी बढ्दो क्रममा छ । महामन्त्री धवल शमशेर राणा पक्षधरले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वलाई भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन समेत माग गर्दै आएका छन् ।

गत चैत २९ गते महामन्त्री राणाको नेतृत्वमा अध्यक्ष लिङ्देनलाई तीन बुँदे मागसहितको पत्र बुझाइएको थियो ।गुटको बैठकपछि तयार पारिएको उक्त पत्रमा राणा पक्षले निर्वाचनमा व्यहोरेको शर्मनाक पराजयको जिम्मेवारी लिन र तत्काल महाधिवेशनको प्रक्रिया सुरु गर्न अध्यक्ष लिङ्देनलाई अल्टिमेटम दिएको थियो । पार्टीको कार्यकाल सकिएर अतिरिक्त अवधिमा रहेको स्मरण गराउँदै असन्तुष्ट पक्षले २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतालाई जोड दिदै आएको छ ।

गुटको भेलाले लगाएतको आरोपकाबेला मौन बसेका अध्यक्ष लिङदेन पक्षधरका नेताहरु भने पछिल्लो समय एक सञ्चारमाध्यमा महामन्त्री राणाले दिएको एक अन्र्तवार्ता आगामी जेठमा महाधिवेशन नभए पार्टी समाप्त हुने भनी दिएको अभिव्यक्तिप्रति अध्यक्ष लिङदेन लगाएतका नेताहरुले भने प्रतिवाद गरेका छन् । अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन् ।

राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी पनि दिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा आफुजस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन भन्दै स्टाटस लेखेका छन् ।

आफूहरू पार्टीको मुद्दाबाट पछाडि नफर्किएको उनको दाबी छ । राप्रपा राजसंस्था, हिन्दुराष्ट्र अंगीकार र प्रदेश संरचना खारेजीका पक्षमा रहेको बताउदै उनले आफ्ना सारा गल्ती, कमी–कमजोरी सच्याएर राप्रपा पुनर्गठित भएर उठ्ने उल्लेख गरेका छन् ।
यस्तै आइतबार नै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आन्तरिक जीवन र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीबारे भ्रम फैलाउने काम जिम्मेवार नेताबाटै भएको भन्दै प्रतिवाद गरेका छन् । जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने खालका अभिव्यक्ति जिम्मेवार व्यक्तिहरूबाट सार्वजनिक हुनु दुःखद रहेको बताउदै उनले सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै नसकिने र समाप्त नहुने दाबी गरेका छन् । अध्यक्ष लिङ्देनले महाधिवेशन टारिरहेको भन्ने आरोपलाई प्रवक्ता श्रेष्ठले ’गलत भाष्य’ को संज्ञा दिएका छन् । अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि प्रक्रियामा धेरै अघि नै प्रवेश गरिसकेको उनको दाबी छ । पार्टीले स्थानीय तहदेखि जिल्ला तहसम्मको अधिवेशनका लागि दुई पटक म्याद थप गरिसकेको र हालसम्म दुई दर्जन बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ ।

पार्टीभित्र बसेर नेतृत्वको आलोचना गर्ने तर निर्वाचनमा असहयोग गर्नेहरूमाथि पनि श्रेष्ठले कटाक्ष गरेका छन् । अध्यक्ष लिङ्देनले एकलौटी निर्णय गरेको भन्ने आरोपको बचाउ गर्दै श्रेष्ठले विगत चार वर्षमा कुनै पनि विषयमा ’नोट अफ डिसेन्ट’ (फरक मत) नलेखिएको स्पष्ट पारेका छन् । विशेष परिस्थितिमा लिइएका तत्कालका निर्णयहरू पनि कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराउने गरिएको उनको भनाइ छ । प्रवक्ता श्रेष्ठले महाधिवेशनको आवश्यकता असन्तुष्ट पक्षलाई भन्दा बढी अध्यक्ष लिङ्देनलाई भएको समेत जिकिर गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x