थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो,सामान सार्न सघाउँदै प्रहरी
काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियान अन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो ।
बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन् ।
विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो भने यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू क्षति नपुगोस भनेर प्रहरीले सामान ओसारपसार गरिरहेको छ ।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए । नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE