सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

‘पोखराको रात्रिकालीन व्यवसायमा बेथितिः २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न व्यवसायीको माग’

काठमाडौं। पोखराको रात्रिकालीन व्यवसायमा बेथिति भित्रिएको स्थानीय, तथा व्यवसायीले गुनासो गरेका छन् । खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति र असुरक्षा मौलाएको उनिहरुको आरोप छ ।

व्यवसायीले २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।पर्यटकीय राजधानी पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग संवद्ध संघसंस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति २ बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाइ गर्न माग गरेका हुन् ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन क्षेत्रसँग आवद्ध १५ वटा संस्थाहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरे । सरकारले २०८० चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई चौबिसै घण्टा खुला राख्ने निर्णय गरेको थियो । तर उक्त निर्णयपश्चात मापदण्ड पालना नहुँदा र फितलो अनुगमनका कारण शान्ति सुरक्षामा समेत गम्भीर असर परेको व्यवसायीहरूको ठहर छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरा शहर २४ सै घण्टा खुला राख्ने सरकारको निर्णयप्रति होटल संघ पोखराले पनि असन्तुष्टि व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त छलफल र पूर्व तयारी बिना नै ल्याइएको यो अवधारणा प्रभावकारी नभएको टिप्पणी गरे । अध्यक्ष सुवेदीकाअनुसार पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले समयमै खानपान गर्ने अभ्यास रहेकाले मध्यरातमा बजार खुला राख्नुको औचित्य देखिएको छैन । व्यवसायीहरूकाअनुसार २४ सै घण्टा बजार खुला रहँदा पर्यटकीय गतिविधि बढ्नुको साटो स्थानीय युवापुस्तामा नकारात्मक असर परिरहेको छ । डिस्को, क्लव र दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसायहरूले युवाहरूलाई गलत बाटोतर्फ डोहो¥याएको तर त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको संघको ठहर छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दाले रात्रिकालीन व्यवसायका कारण उत्पन्न सामाजिक समस्या र बेथितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेषगरी पर्यटकीय क्षेत्रमा सञ्चालित क्लव तथा डान्स बारहरूका कारण स्थानीयको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ छ । रात्रिकालीन व्यवसायमा संलग्न व्यक्तिहरू र त्यहाँ जाने ग्राहकहरूको अमर्यादित व्यवहारले टोल छिमेकमा नकारात्मक असर पुगेको भन्दै स्थानीयले यसको उचित व्यवस्थापन र नियमनका लागि ध्यानाकर्षण गराएका छन् । रातभर सञ्चालन हुने यस्ता गतिविधिले एकातिर ध्वनि प्रदुषण बढाएको छ भने अर्कोतिर बिहानको समयमा हिँडडुल गर्ने सर्वसाधारणले असुरक्षित र असहज महसुस गर्ने गरेका छन् ।

पर्यटकीय राजधानी पोखराको गरिमा बचाउन र पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन रात्रिकालीन व्यवसायको उचित व्यवस्थापन अनिवार्य देखिएको छ । व्यवसायीको लापरवाही र नियमनकारी निकायको मौनताले गर्दा पर्यटन क्षेत्र थप जटिल मोडमा पुग्ने जोखिम बढेको भन्दै सरोकारवालाहरूले तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने होटल तथा पर्यटन क्षेत्रको प्रभावकारी नियमन र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी ठोस निर्णय लिइने बताइन्।

व्यवसायलाई मर्यादित बनाउन व्यवसायीहरू आफैँले पनि आन्तरिक नियमन गर्नुपर्ने र तोकिएका मापदण्ड पालना भए÷नभएको विषयमा प्रशासनले नियमित अनुगमन गर्ने उनको भनाइ छ । उनले अनुगमन र नियमनको प्रक्रियालाई थप सुदृढ बनाउन व्यवसायीहरूको सहयोग अपरिहार्य रहेको बताइन् ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x