भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु
काठमाडौं । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परि पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते भएका छन् ।
ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटना विमान एयरबेसमा अवतरण गर्ने प्रयास गरिरहँदा भएको हो । दुर्घटनालगत्तै विमानमा भयानक आगो लागेसँगै दुई टुक्रा भएको थियो ।
यो एउटा एएन–३२ कार्गो विमान थियो, जसको प्रयोग सैनिक र सैन्य सामग्री ओसारपसार गर्न गरिन्छ ।
दुर्घटनालगत्तै एयरबेसमा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गरियो र दमकल तथा सेनाका जवानहरूले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।
इन्डियन एयरफोर्सले विमान नियमित उडानमा रहेको बताएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। वायुसेनाले प्रारम्भिक नतिजा नआएसम्म कुनै अनुमान नलगाउन अपिल गर्दै घटनाको अनुसन्धानका लागि ‘कोर्ट अफ इन्क्वायरी’ को आदेश दिइएको जनाएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE