काठमाडौंको माइतीघरमा दैनिक धर्ना दिनेहरुको घुँइचो
काठमाडौं । काठमाडौंको माईतीघरमा दैनिक धर्ना दिनेहरुको कथा फरक–फरक छन् । उनीहरुको पीडा पनि बेग्ला बेग्लै छन् । तर, पीडितहरुको माग एउटै छ– निष्पक्ष न्याय । मानिसहरु सरकारलाई खबरदारी गर्न र न्यायका लागि माइतीघरमै थपिन्छन् । सरकारको ध्यानाकर्षण गराउन माइतीघरमै सभा जुलुस र ¥याली गर्छन् । तर, ब्यानर, प्ले कार्ड र पम्पलेट हातमा लिएर न्याय माग्दै माइतीघरमै बसेको हप्तौ बितिसक्दा पनि सरकारको ध्यान जाँदैन ।
काठमाडौंको माईतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र आफ्नो माग राख्ने थलोको रुपमा परिचित छ । यही थलोमा यतिबेला विभिन्न घटनाका पीडितहरूको न्यायको माग राख्दै धर्नामा बसेका छन् । धर्नामा बसेका सबैका आ–आफ्नै पीडा छन्, कसैले दुर्घटनापछि उपचार खर्च नपाएर छट्पटाईरहेका छन् भने कोही बलात्कृत भएर अपमानजनक भएर बस्नुपरेको छ ।
बलात्कार, अन्तरजातीय विवाहका कारण भएको हत्या तथा वर्षौं पुराना मुद्दामा न्याय खोज्दै पीडितहरु माइतीघरको सडकमा पीडकको तस्वीरसहित व्यानार टाँगेर धर्नामा उत्रेका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ की देविका खनाल २१ दिनदेखि माईतीघरमा धर्नामा बसिरहेकी छन् । उनले २०८१ सालमा वडाध्यक्ष सुमन थापाले दुर्घटना गराएपछि उपचारको जिम्मेवारी नलिएको आरोप लगाइन । दुर्घटनापछि स्थानीयवासीले अस्पताल पु¥याए पनि आफूले आवश्यक सहयोग नपाएको उनको गुनासो छ ।
दुर्घटनाका कारण अपाङ्गता भएको उल्लेख गर्दै उनले उपचार खर्च, क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाहीको माग गरिरहेकी छन् । स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गरेपनि सुनुवाइ नभएपछि संघीय सरकारको ढोका ढकढक्याउन माईतीघरमा धर्नामा बस्न बाध्य भएको उनको भनाइ छ । त्यस्तै, शर्मिला शाही तीन महिनाको शिशु काखमा बोकेर सात दिनदेखि माईतीघरमा धर्ना दिइरहेकी छन् । आफूलाई शरीर वन्धक बनाएर जबरजस्ती करणी गरिएको आरोप लगाउँदै उनले बलात्कारबाट जन्मिएको सन्तानको पालनपोषणको जिम्मेवारी पीडक पक्षले लिनुपर्ने माग राखिन ।
नेपाल प्रहरीमा कार्यरत रहेका आरोपित हाल जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिँदै शाहीले बच्चाको जन्मदर्ता र भविष्यको जिम्मेवारीसमेत पीडक परिवारले वहन गर्नुपर्ने बताइन । दलित अधिकारकर्मी प्रकाश टमाटा अन्तरजातीय विवाहका कारण ज्यान गुमाएका अजित मिजारको न्यायका लागि धर्नामा सहभागी छन् । उनका अनुसार काभ्रेका मिजारलाई अन्तरजातीय विवाहकै कारण धादिङमा लगेर हत्या गरिएको थियो ।
घटनामा प्रहरी प्रशासनको समेत लापरबाही रहेको आरोप लगाउँदै उनले दशक बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको बताउछन् । कहिलेसम्म दलितहरु अन्तरजातीय विवाहाको कारण मारिनुपर्ने हो ? उनको प्रश्न छ । माईतीघरमै कृष्णमाया उप्रेती पनि १३ वर्ष अगाडीको बलात्कार मुद्दामा न्यायको माग गर्दै धर्नामा बसेकी छन् । सर्वोच्च अदालतले समेत आफूलाई उचित न्याय नदिएको उनको गुनासो छ ।
नेत्रप्रसाद तिमिल्सिनाले २०७० सालमा आफूमाथी बलात्कार गरेको उनको आरोप छ । आफूले न्याय नपाएसम्म माईतीघरमा नै धर्नामा बसिरहने उनको भनाई छ । माईतीघरमा धर्ना दिनेहरुको कथा फरक छन्, पीडा फरक छ, तर माग एउटै छ– निष्पक्ष न्याय । दैनिक मानिसहरु न्यायका लागि माइतीघरमै थपिन्छन् । सरकारको ध्यानाकर्षण गराउन माइतीघरमै सभा जुलुस र ¥याली गर्छन् । ब्यानर, प्ले कार्ड र पम्पलेट हातमा लिएर न्याय माग्दै माइतीघरमै बसेको हप्तौ बितिसक्दा पनि सरकारको ध्यान गएको छैन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE