मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकः मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्।

नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताइन्। यि लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, एफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताइन् । उनले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताइन्। उनले नेपालको कृषि क्षेत्र न्युन उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सिमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उल्लेख गरिन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उनको भनाइ छ । उनले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्।

उनले भनिन्, ‘कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई हाम्रो बहुसंख्यक जनसमुदायको जीविकोपार्जन, संस्कृति र पहिचानको आधार हो । तर आज हाम्रो कृषि क्षेत्रले न्युन उत्पादकत्व र जलवायु परिवर्तनका गम्भीर र बढ्दो जोखिम, प्राकृतिक विपद् र कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन तथा आधुनिक प्रविधि र बजारसम्मको सिमित पहुँच जस्ता जटिल संरचनागत चुनौतीको सामना गरिरहेको छ । त्यसैगरी नेपालका अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभाव हुँदा कृषि उपजको निर्यात प्रवद्र्धनमा समस्या भइराखेको छ । यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै कृषि क्षेत्रको दिगो विकास र खाद्य सम्प्रभुता सुनिश्चित गर्न नेपाल सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकरण तथा आधुनिक परीक्षण प्रयोगशालाको निर्माण एवं दायरा विस्तारलाई आफ्नो उच्च नीतिगत प्राथमिकता राखेको छ र नवप्रवर्तन र जलवायु स्मार्ट प्रविधिको अधिकतम उपयोगमार्फत उत्पादन वृद्धि गर्ने दिगो मूल्य श्रृङ्खला विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको सशक्तिकरण गर्दै समावेशी आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रमुख राष्ट्रिय लक्ष्य हो । यस लक्ष्यमा चीन सरकार र सिडका तथा एफएओ लगायतका दातृ राष्ट्र एवं संस्थाहरूबाट सहयोगको अपेक्षा गर्दछु । मलाई पूर्ण विश्वास छ सिडकाको सहयोगमा आजदेखि कार्यान्वयनमा जान लागेको यस परियोजना नेपाल सरकारका यिनै राष्ट्रिय प्राथमिकता र नीतिगत दिशासँग प्रत्यक्ष रूपमा आवद्ध छ । जलवायु स्मार्ट कृषि अभ्यासको प्रवद्र्धन र पोषण सुधार, बजार पहुँच विस्तार र स्थानीय संस्थागत क्षमताको सुदृढीकरणमार्फत यस परियोजनाले नेपालको समग्र कृषि खाद्य प्रणालीलाई थप सक्षम र दिगो बनाउन दूरगामी योगदान पु¥याउनेछ ।’

उनले चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी ९सिडका० र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ९एफएओ० को सहयोगमा शुरु भएको नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सरकारको कृषि आधुनिकीकरण, व्यवसायीकरण र दिगो विकाससम्बन्धी राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । उनले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक, सौहार्दपूर्ण र समस्यारहित रहेको उल्लेख गर्दै कृषि आधुनिकीकरण र गरिबी न्युनिकरणमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने बताइन् । ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानले कृषि क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x