बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिको परिभाषा र परिचय बदल्नुपर्ने बताएका छन् ।

४४ औँ वीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले राजनीति केवल शक्ति र सत्ता प्राप्तिको प्रतिष्पर्धा मात्र नभएको स्पष्ट पारेका हुन् । सभापति थापाले राजनीतिको वास्तविक अर्थ जनसेवा र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने बताए । उनले भत्केका विद्यालय बनाउनु, लागुपदार्थको दुव्र्यसनमा फसेका युवाहरूलाई सही मार्गमा ल्याउनु, किसानलाई मल र उत्पादनको उचित मूल्य दिलाउनु तथा वन, नदी र पर्यावरणको संरक्षण गर्नु नै वास्तविक राजनीति भएको बताए । वीपी कोईरालाका विचार र आदर्शको स्मरण गर्दै उनले नेपाली काँग्रेस एउटा निर्वाचनको हार वा जितबाट नआत्तिने बताए । निर्वाचन जित्ने नाममा आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गरेर गरिने गठबन्धनको राजनीतिले काँग्रेसको मौलिक पहिचानलाई कमजोर बनाउने उनको तर्क छ ।

सभापति थापाले भने, ‘कतिपयले ‘हामी राजनीति मात्र नगरौँ’ भन्नुहुन्छ । म भन्छु–हामी राजनीति नै गरौँ, तर सही अर्थमा गरौँ । राजनीति भनेको केवल सत्ता वा शक्तिको प्रतिष्पर्धा होइन । भत्किएको विद्यालय पुनर्निर्माण गर्नु, लागुऔषध दुव्र्यसनमा फसेका युवालाई सही बाटोमा ल्याउनु, किसानलाई उचित मूल्य दिलाउनु, मलको व्यवस्था गर्नु, नदी र वन संरक्षण गर्नु तथा रोजगारी सिर्जना गर्नु पनि राजनीति हो । हामीले राजनीतिको परिभाषा र अभ्यास दुवै बदल्नुपर्छ । यही शिक्षा विश्वेश्वरप्रसाद कोईरालाले हामीलाई दिनुभएको हो । कतिपय साथीहरूले स्थानीय वा प्रदेश निर्वाचनको परिणाम देखाएर तर्साउन खोज्नुहुन्छ । तर हामी बीपी कोइरालाका कार्यकर्ता हौँ । हामी कुनै एक चुनावको जित वा हारले आफ्नो आस्था र सिद्धान्तसँग सम्झौता गर्ने पक्षमा छैनौँ । समाज र सिद्धान्तले स्वीकार नगर्ने गठबन्धनको राजनीति नेपाली काँग्रेसको बाटो हुन सक्दैन । हामी चुनावको सामना गर्छौँ, तर हाम्रो पहिलो प्राथमिकता नागरिकको विश्वास जित्नु हो । त्यसका लागि कांग्रेस सत्तासँग मात्र जोडिएको होइन, समाजसँग जोडिएको पार्टी बन्नुपर्छ । समाजको विश्वास जित्न सकियो भने नागरिकले नै काँग्रेसलाई नेतृत्व गर्ने अवसर दिन्छन् । त्यसैले अब विगतका कमजोरीबाट सिक्दै समाजसँग पुनः जोडिने अभियानमा लाग्नुपर्छ। यही आग्रह म पार्टीका सम्पूर्ण साथीहरूलाई गर्न चाहन्छु ।’

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समाजसँग पुनः सुमधुर सम्बन्ध स्थापित गर्न आग्रह गरे । समाजसँग जोडिएको पार्टीलाई नागरिकले नै विश्वास गरेर सत्ताको नेतृत्व सुम्पने बताउँदै उनले विगतका गल्तीहरू सुधार्दै जनताको घरदैलोमा पुग्न निर्देशन दिए । उनले काँग्रेसलाई सत्ताको खेलमा मात्र सिमित नराखी सामाजिक परिवर्तनको संवाहक बनाउनुपर्नेमा जोड दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x