बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्छः महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्ने बताएका छन् । आईतवार पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले वर्तमान संविधान अपूर्ण भएकाले यसलाई संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले समाजवाद ल्याउने गरी संशोधन गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने कुरा गरेपनि के विषयमा गर्ने हो भन्ने स्पष्ट नभएको भन्दै प्राप्त उपलब्धिहरुको कटौती नहुनेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई संविधानले नै ३३ प्रतिशत हक, अधिकार सुनिश्चित गरेको भएपनि कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयन गर्नुपर्ने बताए । उनले नेपालमा यथार्थ रुपमा संघीयताको कार्यान्वयन हुन नसकेको बताए ।

उनले भने – ‘संविधानले महिलाहरुलाई ३३ प्रतिशत दिनु राम्रो कुरा हो । त्यति गरिदिएपछि ठिकै भएको छ । तर नेपालमा अहिले त्यो अनिवार्य हुन सकेन । हाम्रो पार्टीले त्यतिखेर भनेको के हो भने अनिवार्य हुनुपर्छ । त्यसको लागि महिलाको प्रतिष्पर्धा छुट्टै हुनुपर्‍यो । समानुपातिकमा महिलाहरुको सहभागिता सुनिश्चित गरिदिनुपर्‍यो । ३३ प्रतिशत नै हो भनेपनि त्यति त जसरी पनि आउने बनाइदिनु पर्‍यो नि त । समानुपातिक र प्रत्यक्षबाट नमिलाइदिदाँखेरी पुरुष नै पुरुषको थुप्रो हुनेभयो । त्यही कुरा दलितको, जनजातिको हकमा छ । हुँदाहुँदा संघीयता पनि नेपालमा यथार्थ संघीयता छैन नि । संघीयताले महिलालाई पनि त्यति नै उपेक्षित गरेको छ । त्यसकारण संशोधनको कुरा जायज छ । तर संशोधन गर्न खोजेको चाहीँ के मा हो भन्ने अहिले प्रष्ट छैन । कांग्रेस र एमालेले नयाँ सरकार बनाउँदा संशोधन भनेपछि झन यही पनि काट्ने हुन् कि भनेपछि यहाँ त्रायमान छ । हानाहान, ठोकाठोक छ । संशोधन जरुरी छ त हामीले भनेका छौँ नि । संविधान अपूर्ण छ र यसलाई संशोधन गर्नुपर्छ । संशोधन कसरी गर्नुपर्छ भन्दाखेरी राजनीतिक ढंगले समाजवाद ल्याउनेगरी संशोधन गर्नुपर्‍यो । यसमा महिला लड्नुपर्‍यो । हाम्रो कुरा के छ भने कांग्रेस–कम्युनिस्ट नछुट्याएर समाजवादका लागि महिला लड्नुपर्‍यो । महिलाहरु सबैलाई भन्नुपर्‍यो, समाजवादमा गएपछि ४०/५० प्रतिशत महिलाको सहभागिता राज्यमा हुनुपर्छ । त्यसो भयो भने संविधान संशोधन गर्नु उचित छ । तर भएकोलाई पनि केही दलहरुको स्वार्थपूर्ति गर्नका लागि कटौती गर्ने हो भने पश्चगमन हुन्छ । त्यो त गर्नु हुँदैन नि फेरी ।’

उनले समलिङ्गीको विषयलाई संसदमा प्रवेश गराएर नेपालको संस्कृति ध्वस्त पार्ने खेल भइरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x