बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यो सरकार २०८४ सालको दशैंसम्म रहन्छ, भ्रममा नपर्नुहोलाः प्रधानमन्त्री ओली

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन् ।दशैंपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे ।

२०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो । ६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्‍याए । उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने दाबी समेत गरे ।

काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिए ।

उनले भने, ‘विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाजहरु आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्परमाइज हुन सक्दछ । तर प्रणालीको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्र लोकतन्त्र हो । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन् चुनावका माध्यामबाट । तर अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो । अलोकतान्त्रिक कुरा हो । यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन । यति म भन्न चाहन्छु । र म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरुमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दशैँपछि ? २०८४ सालको दशैँपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा । त्यसपछि चुनावबाट जो आउँछ, उसले सरकार बनाउँछ । यस कुरामा सबैलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु । नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली काँग्रेस र एमालेजस्तो पार्टीहरु मिलेर अहिले सरकार बनाएका छन् । र सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन । नेकपा एमाले र नेपाली काँग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरुको सरकार हो यो । म यति कुरा राख्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताए । त्यस अवसरमा उनले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशा समेत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x