बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पीएनओ अर्थात नेपाल मुलका नेपालीले खोजेका कुरा

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

कुमार कार्की
काठमाडौं । बर्मा अथवा म्यानमार नेपालीहरु देशभन्दा बाहिर जान थालेको पुरानो देशमा पर्दछ । पहिलो विश्वयुद्धभन्दाअघि नै यहाँ नेपालीहरु पुगिसकेका थिए । उसबेला बर्मा स्वयं ब्रिटिसको अधिनमा थियो । हालको भारत पनि ब्रिटिसको अधिनमा थियो । उसबेला पहिलोपटक अप्रिल २४, १८१५ मा गोर्खाहरु भारतीय फोर्समा एकीकृत भएको भन्ने व्यहोराले आजभन्दा २०९ वर्षअघि नै नेपालीहरु गोर्खाली सेनाको रुपमा समावेश भएको थिए ।

हाल बर्मामा तीनलाख जति नेपाल मुलका नेपाली रहेका छन् । यो संख्याका सबै नेपालीहरु ब्रिटिस शासनकालमा बर्मामा तैनाथ गोर्खा सैनिकका सन्तान र उनीहरुका नजिकका आफन्तहरु नै थिए । बर्मामा नेपालीहरुको इतिहास करीव १ सय ८० वर्षभन्दा बढी हुन्छ । विभिन्न समयमा आउने जाने क्रम भने चलेको देखिन्छ । बीचको एउटा समयमा नेपालका राजा महेन्द्रले आह्वान गरे अनुरुप देश फर्कन चाहने नेपाल मुलका नेपालीहरुलाई देश फर्काएर नागरिकता दिने व्यवस्था समेत गरिएको कुरा यहाँनेर स्मरणीय छ । देशका पुर्व तथा पश्चिमी भागमा बर्मेली टोलका रुपमा सुरुवातको बसाइ भएको कुरा पनि सम्झनुपर्ने हुन्छ ।

पीएनओ अर्थात पिपुल अफ नेपाली ओरिजीन भन्नाले खास समय र कालखण्डमा नेपाल छाड्न पुगेका नेपालीहरु हुन् । यो नेपालको सबैभन्दा पुरानो डायस्पोरा समाज पनि हो । नेपालीहरु बर्मा,थाइल्याण्ड मलेसिया लगायतका देशहरुमा पहिलो र दोस्रो विश्वयुद्धको क्रममा यसरी नै पुगेका थिए । यसको इतिहास निकै पुरानो भएको छ । त्यसबेलाको अवस्थामा नागरिकता बन्ने र बोकेर हिंड्ने कुनै चलन र परिपाटी थिएन ।

थाइल्याण्डमा करीव ८० वर्षको इतिहास भइसकेको छ नेपालीहरुको । थाइल्याण्डमा ८० हजारदेखि १ लाखजति नेपालीहरु बसोबास गर्दछन् ।

थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरु दोस्रो विश्वयुद्धताका नेपालबाट भारत म्यान्मार हुँदै थाइल्याण्डको सीमाना पिलोक भन्ने ठाउँमा रहेको सीसा फलामको माइन ९खानी० को काममा ज्यामी मजदुरको रुपमा काम सुरु गरेको थिए । यहाँ १६ वटा जति टोलहरु थिए नेपालीका ।

यसरी बस्दै जाँदा लामो समयपछि थाइल्याण्ड प्रवेश हुँदा सबै नेपालीहरुले म नेपाली हुँ भन्ने कुनै किसिमको कागजपत्र साथमा लिएर आएका थिएनन ।

त्यसबेला नागरिकता प्रमाणपत्रको चलन थिएन । बस्दै जाँदा विश्वयुद्धपछि देशहरु स्वतन्त्र भए, थाइल्याण्ड प्रवेश गरेका नेपालीहरु देशविहीन गैर नागरिक हुन पुगे । यस्तो अवस्थामा नेपालका स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह र थाइ नवौं नरेश सरकारबीच दुई देशको मैत्री सम्बन्ध विकासमा थाइ प्रवासी नेपालीहरुको निवेदनको पहल हुँदा नेपाली राजदूतावासको नेतृत्वमा यी नेपालीहरु नेपाल मूलका व्यक्तिहरु हुन भन्ने निश्चय गरी प्रमाणपत्रद्वारा सन् १९८७ मा नेपाली शरणार्थीका रुपमा ग्रीन कार्ड प्राप्त भयो । तत्पश्चात् लगभग पन्ध्र वर्षपछि नेपाली राजदूताबासकै पहलमा सन् २००१ बाट अस्थाई ग्रीन कार्डलाई स्थायी थाइ नागरिकको रुपमा परिचयपत्र दिइयो ।

नेपाल बाहिर बसिरहेपनि नेपाललाई उनीहरु “मुलुक” भन्थे । मूलूक फर्कने सपना बोकेर उनीहरुका धेरै वर्ष बिते । यो संख्या सबैभन्दा बढी बर्मामा थियो । समय बित्दै जाँदा केही मानिस फर्केर नेपाल आए । नेपालको नागरिकता लिए । नेपालीहरुको ठूलो हिस्सा भने त्यहींको नागरिकता लिएर बसे । अब मुलुक फर्कने हो भनेर उताको नागरिकता पनि उनीहरुले धेरै वर्षसम्म लिएका थिएनन् । बर्मामा बसेका नेपालीहरुको नागरिकतामा गोर्खा वा नेपाली भनेर उल्लेख गरिएको छ । मलेसियाका पुराना नेपालीहरुलाई पनि गोर्खा उल्लेख गरेर नागरिकता दिइएको छ । थाइल्याण्डमा पहिलो र दोस्रो विश्वयुद्ध नभएको कारणले ग्रीन कार्ड पाउँदा नै नेपाली भनेर उल्लेख गरिएको छ ।

नेपालीहरु इतिहासका कुनैदिनमा पुगका देशहरुले उनीहरुलाई नेपाली वा गोर्खा भनेर नै नागरिकता दिएका छन् । हामी पीएनओको माग नागरिकता वा दोहोरो नागरिकता हैन । हामी नागरिकताको माग गरेर नेपाल देशलाई भारी बन्न चाहँदैनौं । हाम्रो माग भनेको पुर्खाको थातथलोको रुपमा हामी पनि नेपाली हौं भनेर नेपाल सरकारले नेपालीको पहिचान को कुनै परिचयपत्र जारी गरोस् । नेपाल नेपाली मुलको मानिस भनेर घुम्न डुल्न पाइयोस् । विदेशी सरहकोव्यवहार नहोस् भन्ने नै हाम्रो चाहना हो । यसरी हामीलाई नेपालीहरुको परिचय खुल्ने कुनै कार्ड दिंदा नेपाल देशलाई कुनै अप्ठेरो नपर्ने हाम्रो माग हो ।

नेपाललाई म्यानमार,थाइल्याण्ड र मलेसियाका नेपाल मुलका नेपालीहरु पितृभूमि मान्दछन् । नेपाल आउन,घुम्न र नेपाली भाषामा रमाउन उनीहरुलाई रमाइलो लाग्छ । नेपालीपनमा यी समुदाय रमाउँछन् । नेपाली भेष,भाषा र लवज यी समुदायका लागि महत्वपूर्ण छन् । सयभन्दा बढी देशहरुमा अहिले नेपालीहरु पुग्नु भएको छ । तर, पीएनओ भनेको मूख्य रुपमा तीनचार देशको सवाल हो । यही कारणले पनि यी चार देशमा रहेका नेपालीहरुलाई बेग्लै ढंगले हेर्नु पर्दछ भन्ने हाम्रो माग हो । पहिचान र परिचय मानिसका लागि चाहिने अत्यावश्यक कुरा हो । व्यक्तिको परिचय र पहिचान नै उसको जीवनको महत्वपूर्ण पाटो हो । यसैलाई हामीले खोजिरहेका छौं ।

नेपाल सरकारले गैरआवासीय नेपाली कानूनमा पहिले पचियपत्र र हाल दोहोरो नागरिकताको प्रावधान समेत ल्याएको छ । यस म्बन्धी व्यवस्थामा तीनपुस्ता सम्मका नेपालीहरुलाई समेत समेटिएको छ । बर्मा थाइल्याण्ड मलेसिया लगायतका देशका नेपाल मुलका नेपालीहरुले सयवर्षभन्दा पहिले देश छाडिेको र तीनपुस्ताको कुनै प्रमाण पेश गर्न सकिने कागजातहरुसँग हामीसँग छैन । उसबेला नेपाल छाड्दा नेपालमा नागरिकता,पासपोर्टको चलन समेत नभएकोले हामीसँग नेपालसँग सम्बन्धीत कुने कागजातहरु छैनन् । छ त पुर्खाले दिंदै आएका भाषा, चालनचलन र रितिथिति । हामीसँग नेपाली भएको प्रमाण भनेको यही नै हो ।

गैरआवासीय नेपाली सम्बन्धी कानूनको कुनै प्रावधानमा हामीलाई पनि समावेश गराइयोस् भन्ने हाम्रो माग हो । पीएनओको मामिला गैरआवासीय नेपालीहरुको एउटा तप्काको आफ्ना पुर्खाको देशसँग जोड्ने साइनो मात्र हो । चौथो,पाँचौ र छैठौं पुस्ताअघि देशको भूगोल छाडेपनि , देशको सीमा छाडेपनि उनीहरुले नेपालका ज्ञानज्ञुन र भाषा, भेष आफूसँग बोक्दै आएका छन् । नेपाली भएर बाँच्ने उनीहरुको संकल्प छ । सयौं वर्षदेखि मनमा नेपाल बोकर हिंडेको एउटा समुदायलाई नेपालसँग साइनो जोड्ने एउटा माध्यमको रुपमा पनि उनीहरुले यसलाई लिएका छन् ।

पीएनओहरुको माग नेपाल देशको नागरिकता लिनु हैन । यस देशसँग जोडिएको मतदान र भोटिंग अधिकारको कुरा पनि हैन । नेपाल मुलका नेपालीको रुपमा नेपाल सरकारले कुनै परिचयपत्रको व्यवस्था गर्दा उनीहरु यस देशको उन्नति र प्रगतिमा कतै त कतै सहभागी हुन सक्छन् र आफ्नो पुर्खादेशको एउटा नमेटिने चिनो आफूसँग राख्ने यो समुदायको इच्छा हो ।

यस विषयमा हामीले नेपाल सरकारका विभिन्न निकायहरु, राजनीीतक दलका नेताहरु, संसदीय दलका सचेतकहरु, सांसदहरु, कानूनविदहरुसँग पनि छलफल तथा परामर्श गरिरहेका छौं । आफ्ना मागहरु वहाँहरु समक्ष जाहेर पनि गरेका छौ । आशा छ, हाम्रा मागमा सबैको ध्यान जानेछ ।
पीएनओहरु यस देशसँग भावनात्मक सम्बन्धमा जोडिन चाहन्छन् । नेपालको विकास र प्रगतिमा साथ दिन चाहन्छन् । आफ्नो पुर्खाको माटोलाई समय समयमा ढोग्न चाहान्छन् । यहाँका देवीदेवताको दर्शन गर्न चाहान्छन् । नेपाल आउँदा विदेशी नागरिकको रुपमा मात्र हैन, यिनीहरु पनि नेपाल आमाका सन्तान हुन भन्ने भावना जोड्न चाहान्छन् । अहिलेको पीएनओको सवाल यही हो ।

नेपाली मुल उल्लेख गरेर अरु देशले नागरिकता दिएको पृष्ठभूमिमा नेपाली मुल उल्लेख गरेर परिचयपत्र दिने कार्य नेपालसँग जोडिने कुरा मात्र हो । नेपालको छिमेकी देश भारत छाडेर गएका भारतीयहरुले गैरआवासीय भारतीय ९एनआरआइ०को परिचय पाएर ती देशको उद्योगधन्दा र आर्थिक विकासमा ठूलो टेवा दिएका छन् । मित्रराष्ट्र चीनमा पनि धेरैकाल अघि चीन छाडेका गैरआवासीय चिनियाहरु (एनआरसी) को रुपमा परिचय पत्र पाएका छन् ।
हाल गैरआवासीय नेपाली संघको अगुवाइमा भईरहेको परिचयपत्रको कानूनी प्रावधानमा तीनपुस्ताको परिचयको कुरा गरिएको छ । पाँच ६ पुस्ताअघि देश छाडेका नेपालीहरुको बारेमा नियम मौन छ । त्यसैले यसलाई सम्बोधन होस् भन्ने यस समुदायको चाहना हो ।

(कुमार कार्की, थाइ नेपाली संघको संरक्षक र गैरआवासीय नेपाली संघको पीएनओ सम्बन्धी समितिका संयोजक हुन् ।)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x