हटेन राजनीतिक अवरोध, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीचमा सहमति हुन नसक्दा आज पाँच मिनेट बसेको प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । सोमबार जम्मा पाँच मिनेट बसेको प्रतिनिधिसभाको बैठक दुई दिन पछाडि सारिएको हो ।
आज दिउँसो बैठक बस्नासाथ नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले नेताहरूबीच समझदारीको पहल भइरहेको भन्दै आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए । तर उक्त समयमा बैठक बस्न सकेन ।
संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको अडान राख्दै आएका छन् ।
सत्तारूढ कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को समिति आवश्यक नरहेको बताउँदै आएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE