ओली सरकार ढाल्ने कसरतमा शेखर कोइराला,के भयो प्रचण्ड र विद्यासँग कुराकानी ?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरिरहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको दौडधुप बढेको छ । वर्तमान गठबन्धन सरकारसँग तीव्र असन्तुष्टि जनाउँदै आएका कोइरालाले इत्तर पक्षसँग छलफल तीव्र बनाएका हुन् । बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर दुई घण्टा लामो वार्ता गरेका शेखरले शुक्रबार पनि दौडधुपलाई जारी राखे ।
ओली नेतृत्वको सरकार भ्रष्टाचारको दलदलमा फसेको, जनअपेक्षा पूरा गर्न नसकेको र विकासलाई पनि गति दिन नसकेकोसहितका निष्कर्ष बोकेर सार्वजनिक रुपमै बोल्दै आएका कोइराला मन्त्रीहरुको घुस काण्डको अडियो बाहिरिएपछि सरकारसँग झन् चिढिएका छन् । शुक्रबार बिहान एमालेमा फर्किन शक्ति संघर्ष चलाइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे ।
प्रचण्डलाई बिहीबार खुमलटार पुगेर भेटेजस्तै शेखरले पूर्वराष्ट्रपति भण्डारीलाई उनकै निवास बूढानीलकण्ठ नगरपालिकास्थित भंगाल पुगेर छलफल गरेका हुन । दुई जनाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । देशको समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, उपलब्धि र जनस्तरको असन्तुष्टिबारे लामो कुराकानी भएपनि खुलाइएको छैन् । एमालेमा स्पेस खोजिरहेकी भण्डारीलाई रोक्ने रणनितिमा अरु नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।
प्रचण्डसँगको छलफलमा मन्त्रीहरू घुस काण्ड र भ्रष्टाचारमा मुछिएको, सरकारले सुशासन प्रत्याभूति गराउन चुकेको र अर्थतन्त्र पनि अपेक्षित सुधार हुन नसकेको कुरा दुई नेताबीच भएको थियो । बिहीबार मात्रै प्रचण्डले यो सरकारले बाटो बिराएकाले अब आन्दोलनको आँधीहुरी ल्याएर ढाल्ने चेतावनी दिएका थिए । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर सरकारको विकल्पको खोजीमा लागेको बताइएको छ ।
यो सरकारसँग कांग्रेस महामन्त्री गगन थापा पनि सन्तुष्ट छैनन् । उनीले पनि प्रधानमन्त्री ओलीलाई सरकार हस्तान्तरण गर्ने दिन गनेर नबस्न सुझाव दिइरहेका छन् । सरकार एक वर्षे कार्यकालको समीक्षामा लागिरहेका बेला शेखरले प्रचण्ड र एमालेमा फर्किन संघर्षरत भण्डारीसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्ड र कोइरालाबीच ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन् । शेखरसँगै प्रचण्ड भेट्न खुमलटार पुगेका नेता सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको जिकिर गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE