मधेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसबीचमा चाडपर्व परेकाले छठपछि विश्वासको मत लिने तयारीमा रहेको मुख्यमन्त्री सोनलले जानकारी दिएका हुन । उनी जनता समाजवादी पार्टी (जसपा)नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा यी पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ ।
जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ । तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् ।
तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ । अब विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरे तापनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ ।
जसपा नेपालका एक जना सांसद पनि निलम्बनमा छन् । मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहा निलम्बित रहेकाले विश्वासको मतमा भोट हाल्न पाउँदैनन् । यस्तोमा केही गरी जनमत पार्टीका दुई जनाले मत दिएनन् भने समर्थन गरेका दलबाट सोनललाई मत दिनेको संख्या ५४ मा झर्न सक्दछ । मुख्यमन्त्री सोनल भने विश्वासको मत पाउनेमा ढुक्क छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE