निर्वाचनलाई सफल बनाउनलाई सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पारे। राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको पनि बताए।
उनले सो निर्वाचन परिणामले मुलुकको सुशासन,विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे।
राष्ट्रपति पौडेलले भने,‘देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ । त्यो विषय र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’
त्यस अवसरमा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए। उनले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE